

काठमाडौं । संघीय संसद्मा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलहरूले संसद् बैठक यथाशीघ्र आह्वान गर्न माग गर्ने निर्णय गरेका छन्। सोमबार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरूको बैठकले संसद् बैठक छिटोभन्दा छिटो बोलाउन सभामुखसँग आग्रह गर्ने निर्णय गरेको हो।
बैठकपछि कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले हालै सार्वजनिक भएका बिचौलियासँग जोडिएका विषय, न्यायपालिकाको कार्यप्रणाली तथा प्रेससँग सम्बन्धित संवेदनशील मुद्दाहरू संसद्मा छलफल गरेर निरूपण गर्नुपर्ने बताए।
उनले संसद्लाई छलेर अध्यादेशमार्फत मात्रै सबै काम अघि बढाउँदा संसद्को गरिमा र अपरिहार्यतामाथि प्रश्न उठ्ने बताए। त्यसैले संसद् बैठक तत्काल बोलाएर गम्भीर विषयमा छलफल गरी निष्कर्षमा पुग्नुपर्ने उनको भनाइ थियो।
बैठकले गम्भीर तथा संवेदनशील विषयको उचित टुंगो लगाउन प्रतिपक्षी दलका नेताहरूबीच नियमित छलफल गर्ने र साझा धारणा निर्माण गर्ने निर्णयसमेत गरेको आङ्देम्बेले जानकारी दिए। देश र जनताको हितका लागि प्रतिपक्षी दलहरूबीच सहकार्य जारी राख्ने निर्णय भएको पनि उनले बताए।
महाअभियोगको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्पष्ट नभएको उल्लेख गर्दै आङ्देम्बेले रास्वपाले उक्त विषय उठाएमा प्रतिपक्षी दलहरूले आवश्यक धारणा बनाउने बताए।