

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आज जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाज भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल मध्याह्न १२ः३० बजे सुरु हुनेछ।
पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित जनकपुर आज पहिलो जित निकाल्ने लक्ष्यमा छ। १३३ रनको लक्ष्य पछ्याउँदा ११३ रनमै समेटिएको जनकपुरलाई ब्याटिङ सुधार्ने चुनौती छ। नयाँ अनुबन्धित खेलाडी परवेज हसन इमोन र सेफ हसनको उपलब्धताले पनि टोलीको संयोजनमा प्रभाव पार्न सक्छ।
यता, काठमाण्डु गोर्खाज भने सिजनको पहिलो खेलमै जित निकाल्न चाहन्छ। अस्ट्रेलियाका स्टार ब्याटर डेभिड वार्नर नेपाल नआइसकेकाले उनको अनुपस्थितिमा अन्य खेलाडीको प्रदर्शन चासोको विषय हुनेछ। करण केसी, भीम सार्की र विदेशी खेलाडी स्मित पटेलबाट काठमाण्डुले अपेक्षा गर्नेछ।
हेड टु हेडमा दुवै टोलीको अवस्था बराबरी छ। अघिल्ला दुई संस्करणमा सन् २०२४ मा जनकपुर र सन् २०२५ मा काठमाण्डु पाँच विकेटले विजयी भएका थिए।
आजको खेलमा जनकपुर पहिलो जितको खोजीमा हुनेछ भने काठमाण्डु विजयी सुरुवात गर्दै प्रतिस्पर्धामा आफ्नो दाबेदारी प्रस्तुत गर्न चाहन्छ। मौसममा बदली र वर्षाको सम्भावना रहेकाले खेल प्रभावित हुने जोखिमसमेत छ।