

संखुवासभा । संखुवासभाको मादी नगरपालिका-३, मूलखर्कमा प्रथम ‘मझिया स्मृति कप २०८३’ आमन्त्रित ९ ए साइड महिला फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा धरानको रेवाहाङ फेयर फुटबल क्लबले मावादिन युवा समाज विकास केन्द्र, मादीलाई ५-० गोल अन्तरले पराजित गरेको छ।
खेलको सुरुदेखि नै आक्रामक प्रदर्शन गरेको रेवाहाङले पहिलो हाफमै तीन गोलको अग्रता बनाएको थियो। खेलको १४औँ मिनेटमा आसिका कार्कीले गोल गर्दै टोलीलाई अग्रता दिलाइन्। त्यसपछि २७औँ मिनेटमा जर्सी नम्बर १५ की प्रजिता राई र २९औँ मिनेटमा जर्सी नम्बर २३ की यमकुमारी बीकेले गोल थपिन्।
पहिलो हाफमा ३-० को अग्रता बनाएको रेवाहाङले दोस्रो हाफमा पनि आफ्नो प्रभाव कायम राख्यो। दोस्रो हाफको नवौँ मिनेटमा जर्सी नम्बर १७ की शिक्षा याक्खाले गोल गरिन्। उनले अतिरिक्त समयमा व्यक्तिगत दोस्रो गोल गरेपछि रेवाहाङले ५-० को फराकिलो जित दर्ता गर्यो।

खेलभरि गोल फर्काउन नसकेको मावादिन युवा समाज विकास केन्द्र पराजित भयो। उत्कृष्ट प्रदर्शन गरेकी रेवाहाङकी प्रजिता राई ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।
प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री लिङ्थेपले श्रमदानमार्फत निर्माण सुरु गरिएको खेलमैदानलाई थप व्यवस्थित बनाउन आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
खेलकुद गतिविधिलाई व्यवस्थित रूपमा अघि बढाउन आवश्यक पूर्वाधार विकासमा जोड दिँदै उनले मैदानलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता जनाएका हुन्।
स्वर्गीय मानबहादुर जिमी ‘मझिया’को स्मृतिमा आयोजना गरिएको प्रतियोगिता मझिया मानबहादुर जिमी स्मृति प्रतिष्ठानको आयोजनामा तथा हाङ्थुम क्लबको सह–आयोजनामा सञ्चालन भइरहेको छ।
स्थानीय क्षेत्रमा महिला फुटबल प्रतियोगिता कम आयोजना हुने गरेको अवस्थामा यस प्रतियोगिताले महिला खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। स्थानीय क्षेत्रमा फुटबलको विकास र सामाजिक क्षेत्रमा समेत योगदान पुर्याएका स्वर्गीय मझियाको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष रामकुमार जिमीले बताए।
उनका अनुसार प्रतियोगिताले नयाँ पुस्तालाई खेलकुदप्रति आकर्षित गर्नुका साथै महिला फुटबलको विकासमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्दैछन्। विजेता टोलीले तीन लाख रुपैयाँ र उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई २१ हजार रुपैयाँ तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताअन्तर्गत दोस्रो क्वार्टरफाइनल खेल कात्तिक ९ गते दिउँसो १ बजे पदमा स्पोर्ट्स क्लब, ओखलढुङ्गा र बेलबारी फुटबल क्लब, मोरङबीच हुने तालिका छ। प्रतियोगिता कात्तिक १३ गतेसम्म सञ्चालन हुनेछ।