

काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न सम्झौता गरिसकेका आफ्ना खेलाडीलाई आवश्यक अनुमति प्रमाणपत्र (एनओसी) नदिए नेपाल क्रिकेट संघ (क्यान) ले उनीहरूमाथि प्रतिबन्ध लगाउन सक्ने रिपोर्ट सार्वजनिक भएको छ।
क्रिकेटसम्बन्धी सञ्चारमाध्यम ‘क्रिक्स’ले जनाएअनुसार पीसीबीले अहिलेसम्म एनपीएल खेल्न सम्झौता गरेका पाकिस्तानी खेलाडीलाई एनओसी उपलब्ध गराएको छैन। एनओसी नपाए उनीहरूको प्रतियोगितामा सहभागिता अन्योलमा पर्नेछ।
नेपालको ‘राइनोज आर्मी’लाई उद्धृत गर्दै सार्वजनिक रिपोर्टमा पीसीबीको ढिलाइप्रति क्यानका उच्च अधिकारी असन्तुष्ट रहेको उल्लेख छ। क्यानले एनओसी विवाद समाधान नभएसम्म पाकिस्तानी खेलाडीलाई एनपीएलमा सहभागी नगराउने र उनीहरूमाथि अस्थायी वा स्थायी प्रतिबन्ध लगाउने विषयमा छलफल गरिरहेको दाबी गरिएको छ।
रिपोर्टअनुसार क्यान अध्यक्ष चतुरबहादुर चन्दले पीसीबीसँगको विवाद समाधान नभएसम्म पाकिस्तानी खेलाडीले एनपीएलको तेस्रो संस्करण नखेल्ने स्पष्ट पारेका छन्।
एनपीएलको तेस्रो संस्करणका लागि पाकिस्तानका सात खेलाडीले विभिन्न फ्रेन्चाइज टोलीसँग सम्झौता गरिसकेका छन्।
सम्झौता गर्ने खेलाडीमा पाकिस्तानका टी–२० कप्तान साहिबजादा फरहानसहित हैदर अली, हुनैन शाह, हुसेन तलात, इफ्तिखार अहमद, हसन अली र उसामा मिर छन्।
साहिबजादा फरहानलाई हालै पाकिस्तानमै आयोजना हुने एकदिवसीय त्रिकोणात्मक शृंखलाका लागि राष्ट्रिय टोलीमा समावेश गरिएको छ। अन्य खेलाडी भने अहिले पाकिस्तानको राष्ट्रिय टोलीको योजनामा नरहेको रिपोर्टमा उल्लेख छ।
एनपीएलको तेस्रो संस्करण सुरु भइसकेको अवस्थामा पीसीबीले समयमै एनओसी नदिए पाकिस्तानी खेलाडीको सहभागितामा थप अन्योल उत्पन्न हुने देखिएको छ।
यसैबीच, पीसीबीले आफ्ना खेलाडीका लागि पाँच तहको नयाँ वार्षिक केन्द्रीय सम्झौता प्रणाली तयार गरिरहेको रिपोर्ट पनि सार्वजनिक भएको छ। उक्त प्रणालीअन्तर्गत ३० खेलाडीलाई विभिन्न श्रेणीमा अनुबन्ध गर्ने तयारी रहेको जनाइएको छ।
रिपोर्टअनुसार टेस्ट क्रिकेट खेल्ने खेलाडीलाई सबैभन्दा माथिल्लो ‘एबी’ श्रेणीमा राखिनेछ। त्यसपछि ‘ट्र्याक ए’, ‘बीसी’ र ‘सी’ श्रेणी रहने बताइएको छ। अन्तिम श्रेणीमा टी–२० विशेषज्ञ खेलाडीलाई राखिने र उनीहरूलाई विदेशी फ्रेन्चाइज लिग खेल्न पीसीबीको एनओसी आवश्यक नपर्ने दाबीसमेत रिपोर्टमा गरिएको छ।