एनपीएलको तेस्रो संस्करणमा जनकपुर बोल्ट्सको बैंकिङ साझेदार बन्यो मुक्तिनाथ विकास बैंक

एनपीएलको तेस्रो संस्करणमा जनकपुर बोल्ट्सको बैंकिङ साझेदार बन्यो मुक्तिनाथ विकास बैंक

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बनेको छ। साझेदारीसम्बन्धी सम्झौतापत्रमा जनकपुर बोल्ट्सको सञ्चालक कम्पनी ड्रिम स्पोर्ट्स प्रालिका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडा र मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि बैंकका प्रमुख कार्यकारी अधिकृत मानन्धरले यो साझेदारी जर्सीमा बैंकको लोगो राख्नमा मात्र सीमित नरहेको बताए। उनका अनुसार क्रिकेटमार्फत समुदायसँग जोडिने, स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने र युवा सशक्तीकरणमा योगदान पुर्‍याउने उद्देश्यले बैंकले जनकपुर बोल्ट्ससँग सहकार्य गरेको हो।

एनपीएलको तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेकाले टोलीसँग साझेदारी गर्न पाउँदा गर्व लागेको पनि मानन्धरले बताए। त्यस्तै, ड्रिम स्पोर्ट्स प्रालिका प्रमुख कार्यकारी अधिकृत खतिवडाले मुक्तिनाथ विकास बैंकलाई आधिकारिक बैंकिङ साझेदारका रूपमा पाउँदा खुसी लागेको बताए।

“‘जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्छ’ भन्ने बैंकको सोच र मधेशका जनतासँग जोडिने जनकपुर बोल्ट्सको यात्रा एउटै दिशामा अघि बढेका छन्,” उनले भने। मुक्तिनाथ विकास बैंकको सहकार्यले मैदानभित्र र बाहिर दुवैतर्फ टोलीलाई थप ऊर्जा प्रदान गर्ने विश्वाससमेत खतिवडाले व्यक्त गरे।