

मुम्बई । बलिउड अभिनेत्री कृति सेनन अब विशुद्ध हरर फिल्ममा देखिने भएकी छन्। उनले म्याडक फिल्म्सको ब्यानरमा निर्माण हुने शीर्षक तय नभइसकेको हरर फिल्ममा मुख्य भूमिका निर्वाह गर्न सम्झौता गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
आईएएनएसको रिपोर्टअनुसार, ठूलो बजेटमा निर्माण गर्ने तयारी गरिएको यस चलचित्रमा कृति मुख्य भूमिकामा रहनेछिन्। फिल्मको शीर्षक, कथावस्तु र अन्य कलाकारबारे भने निर्माण पक्षले हालसम्म कुनै विवरण सार्वजनिक गरेको छैन।
‘ककटेल २’ र ‘तेरी इश्क मेँ’ लगायतका चलचित्रमा अभिनयका कारण चर्चामा रहेकी कृतिले यस परियोजनामार्फत नयाँ विधामा आफ्नो अभिनय क्षमता प्रस्तुत गर्ने तयारी गरेकी हुन्। उनी विभिन्न विधाका चलचित्रमा काम गर्न रुचि राख्दै आएकी छन्।
म्याडक फिल्म्ससँग कृतिको यो नवौँ सहकार्य हुनेछ। यसअघि उनले उक्त निर्माण संस्थाको ब्यानरमा ‘राबता’, ‘बरेली की बर्फी’, ‘लुका छुप्पी’, ‘अर्जुन पटियाला’, ‘मिमी’ र ‘भेडिया’ जस्ता चलचित्रमा काम गरिसकेकी छन्।
‘मिमी’मा उत्कृष्ट अभिनय गरेबापत कृतिले राष्ट्रिय चलचित्र पुरस्कारसमेत जितेकी थिइन्। स्रोतका अनुसार, ‘मिमी’पछि म्याडक फिल्म्सको ब्यानरमा एकल मुख्य भूमिकामा देखिन लागेको यो उनको दोस्रो चलचित्र हुनेछ।
म्याडक फिल्म्स हरर–कमेडी विधाका चलचित्रका लागि परिचित छ। तर, यसपटक निर्माण हुन लागेको चलचित्र भने हरर–कमेडी नभई विशुद्ध हरर विधाको हुने बताइएको छ। यो निर्माण संस्थाले पहिलोपटक पूर्ण रूपमा हरर विधामा चलचित्र बनाउन लागेको स्रोतको भनाइ छ।
निर्माण पक्षले चलचित्रलाई भव्य रूपमा तयार पार्ने योजना बनाएको छ। यद्यपि, परियोजनासम्बन्धी विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ।
कृति पछिल्लोपटक होमी अदाजानियाको निर्देशनमा बनेको ‘ककटेल २’ मा देखिएकी थिइन्। उक्त चलचित्रमा शाहिद कपुर र रश्मिका मन्दानाको पनि अभिनय रहेको छ।