आज प्रतिनिधिसभा बैठक बस्दै, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रस्तुत हुने

आज प्रतिनिधिसभा बैठक बस्दै, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रस्तुत हुने

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारमा बस्दैछ। बैठकको सम्भावित कार्यसूचीमा विभिन्न विधेयक प्रस्तुत तथा छलफलका लागि प्रस्ताव राख्ने विषय समेटिएका छन्।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। उक्त विधेयक संसद्मा दर्ता भइसकेको छ।

त्यस्तै, मन्त्री गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचनले राष्ट्रियसभामा उत्पत्ति भएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ।

यसैगरी, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’ प्रस्तुत गर्नेछन् भने स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

यसैबीच, आज अर्थ समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका बैठकसमेत बस्ने संघीय संसद्को विवरणमा उल्लेख छ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो १२ः१५ बजे बस्ने तय गरिएको छ भने अर्थ समितिको बैठक बिहान ९ः३० बजेका लागि तोकिएको छ।