चोलेन्द्रको गिरफ्तारीप्रति शशांक कोइरालाको आपत्ति

चोलेन्द्रको गिरफ्तारीप्रति शशांक कोइरालाको आपत्ति

काठमाडौँ । नेपाली कांग्रेसका १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा. डा. शशांक कोइरालाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई मध्यरातमा गरिएको गिरफ्तारीप्रति आपत्ति जनाएका छन्। कोइरालाले जारी गरेको प्रेस विज्ञप्तिमा राणालाई स्पष्ट कारणबिना गरिएको गिरफ्तारीलाई ‘हचुवा, अराजक र गैरकानुनी’ भन्दै त्यसको निन्दा गरिएको छ।

पूर्वप्रधानन्यायाधीशजस्तो सम्मानित पदमा रहेको व्यक्तिलाई समेत आधार र प्रमाणबिना धरपकड गरिएको भन्दै कोइरालाले उक्त कार्यप्रति नेपाली कांग्रेसको तर्फबाट घोर निन्दा व्यक्त गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, “पूर्वप्रधानन्यायाधीशजस्तो सम्मानित पदमा रहेको व्यक्तिलाई समेत विना आधार र प्रमाण गरिएको धरपकड कार्यको नेपाली कांग्रेस घोर निन्दा गर्दछ।” कोइरालाले उक्त गिरफ्तारीलाई गैरजिम्मेवारपूर्ण कार्यको संज्ञा दिँदै सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन्।