

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरिएको विषयमा अनुगमन गर्न पुगेको आयोगको टोलीलाई भेट्न नदिएको भन्दै आपत्ति जनाएको छ।
आयोगले विज्ञप्ति जारी गर्दै अनुगमन कार्यमा अवरोध पुर्याउने प्रहरी कर्मचारीमाथि छानबिन गरी कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ।आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी प्रेस विज्ञप्तिअनुसार जबराको पक्राउसम्बन्धी सत्यतथ्य बुझ्न तथा मानव अधिकारको अवस्थाबारे अनुगमन गर्न आयोगका पदाधिकारी टेकु पुगेका थिए।
तर, प्रहरीको उच्च नेतृत्वसँग यस विषयमा छलफल गर्दा समेत आयोगको टोलीलाई अनुगमनमा रोक लगाउनुको स्पष्ट कारण जानकारी नगराइएको आयोगले जनाएको छ।आयोगले आवश्यकताअनुसार सार्वजनिक वा निजी संस्थाको निरीक्षण तथा अनुगमन गर्ने र मानव अधिकार संरक्षणका लागि सुधार गर्नुपर्ने विषयमा सम्बन्धित निकायलाई सुझाव तथा निर्देशन दिने आफ्नो कानुनी अधिकार रहेको स्मरण गराएको छ।
आयोगले संवैधानिक तथा कानुनी प्रावधानविपरीत आफ्नो टोलीको भेटघाट तथा अनुगमनमा अवरोध पुर्याइएको व्यवहारप्रति खेदसमेत व्यक्त गरेको छ। आयोगले घटनामा संलग्न प्रहरी कर्मचारीमाथि छानबिन गरी आवश्यक कानुनी कारबाही गर्न सरकारसँग माग गरेको जनाएको छ।