

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज १३ जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन हुँदैछ।
यसअघि असोज १० गतेका लागि तय गरिएको क्षेत्रीय अधिवेशन लगातारको वर्षाका कारण प्रभावित भएपछि केन्द्रीय निर्वाचन समितिले सम्बन्धित जिल्लाको मौसम तथा स्थानीय अवस्था हेरी असोज १३ गतेभित्र आफूअनुकूल मितिमा अधिवेशन सम्पन्न गर्न विकल्प दिएको थियो।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार आज झापा, मोरङ, काठमाडौं, म्याग्दी, बागलुङ, अर्घाखाँची, प्युठान, बाँके, डोल्पा, मुगु, हुम्ला, कालिकोट र सुर्खेतमा क्षेत्रीय अधिवेशन हुँदैछ।
त्यस्तै, असोज १२ गते २९ जिल्लामा क्षेत्रीय अधिवेशन गर्ने तयारी छ। ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा, दोलखा, रामेछाप, सिन्धुली, धादिङ, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, नवलपुर, रुपन्देही, गुल्मी, दाङ, सल्यान, बाजुरा, बझाङ, अछाम र कैलालीमा त्यस दिन अधिवेशन गर्ने तयारी गरिएको छ।
असोज १३ गते सुनसरी, नुवाकोट, मकवानपुर, नवलपरासी, बर्दिया र दैलेखमा क्षेत्रीय अधिवेशन गर्ने तय गरिएको छ भने इलाममा असोज १४ गते अधिवेशन गर्ने कार्यक्रम छ।
यसअघि नै मनाङ, मुस्ताङ र बैतडीमा प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। सङ्खुवासभा, धनकुटा, उदयपुर, चितवन, ललितपुर, कपिलवस्तु, रुकुम पूर्व, रोल्पा, रुकुम पश्चिम, जुम्ला, डोटी, दार्चुला, डडेल्धुरा र कञ्चनपुरलगायत जिल्लामा निर्वाचन प्रक्रिया अघि बढिरहेको जनाइएको छ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन हुनेछन्। त्यसैले कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत यो चरणलाई नेतृत्व चयनको महत्वपूर्ण आधार मानिएको छ।
निर्वाचन निर्देशिकाअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिमा सभापति र सचिव एक–एक जना, एक महिलासहित दुई सहसचिव निर्वाचित हुनेछन्। कोषाध्यक्ष भने सभापतिले कार्यसमिति सदस्यबाट मनोनयन गर्ने व्यवस्था छ।
क्षेत्रीय कार्यसमितिमा विभिन्न समावेशी समूह र युवा तथा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने गरी सदस्य चयन तथा मनोनयनको व्यवस्था गरिएको छ।
त्यस्तै, प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट महिला, खुला, युवा तथा विभिन्न समावेशी समूहको प्रतिनिधित्व हुने गरी महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था छ। महासमिति सदस्यसमेत क्षेत्रीय अधिवेशनबाटै छनोट हुनेछन्।
प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट सम्बन्धित प्रदेशसभा क्षेत्रको क्षेत्रीय कार्यसमिति र प्रदेश अधिवेशनका लागि प्रतिनिधि चयन गरिनेछ। प्रदेशसभा क्षेत्रीय कार्यसमितिमा सभापति, उपसभापति, सचिव तथा सहसचिव निर्वाचित हुने र विभिन्न समूहको प्रतिनिधित्व हुने गरी सदस्य चयन गर्ने व्यवस्था कांग्रेसको निर्वाचन निर्देशिकामा छ।
कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा आयोजना गर्ने तय गरिएको छ। आधिकारिक निर्वाचन कार्यतालिकाअनुसार वडा, पालिका, प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय र अन्य तहका अधिवेशन सम्पन्न गर्दै केन्द्रीय महाधिवेशनतर्फ प्रक्रिया अघि बढाइएको छ।
क्षेत्रीय अधिवेशनमा चयन भएका महाधिवेशन प्रतिनिधिले केन्द्रीय महाधिवेशनमा सहभागी हुनुका साथै पार्टीको केन्द्रीय नेतृत्व चयन प्रक्रियामा मतदान गर्नेछन्। त्यसकारण क्षेत्रीय अधिवेशनसँगै महाधिवेशन प्रतिनिधिका लागि विभिन्न समूह तथा उम्मेदवारबीच प्रतिस्पर्धा बढेको छ।
महाधिवेशन प्रतिनिधिका लागि केन्द्रीय तहका नेतादेखि युवा, विभिन्न पेशा तथा समुदायका प्रतिनिधिसमेत प्रतिस्पर्धामा रहेको कांग्रेससम्बद्ध विवरणमा उल्लेख छ। उम्मेदवारहरूले क्षेत्रीय प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट, फोन, एसएमएस तथा सामाजिक सञ्जालमार्फत प्रचार गरिरहेका छन्।