निप्पोन फर्मास्युटिकलले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

निप्पोन फर्मास्युटिकलले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१२, बखरीमा रहेको निप्पोन फर्मास्युटिकल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले प्रचलित धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली तथा निर्देशिकाबमोजिम नियामक निकायबाट आवश्यक स्वीकृति प्राप्त गरेपछि आईपीओ निष्काशन गर्ने जनाएको छ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको छ। यससम्बन्धी सम्झौतामा निप्पोन फर्मास्युटिकलका प्रबन्ध निर्देशक मन्टु घिमिरे र नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन्।

निप्पोन फर्मास्युटिकल विभिन्न प्रकारका औषधि उत्पादन गर्ने कम्पनी हो। कम्पनीले ट्याब्लेट, क्याप्सुल, तरल औषधि, मलम, क्रिम, जेल, ओआरएस, ड्राइ सिरप तथा पेनिसिलिनलगायतका औषधि उत्पादन गर्दै आएको जनाएको छ।

कम्पनीका अनुसार निप्पोन फर्मास्युटिकलको औपचारिक दर्ता सन् २००६ मा भएको थियो भने उद्योग स्थापना सन् २०१७ मा गरिएको हो। व्यावसायिक उत्पादन तथा बजारीकरण भने सन् २०२२ देखि सुरु गरिएको कम्पनीले जनाएको छ।

व्यावसायिक उत्पादन सुरु गरेको चार वर्षमै कम्पनीले विभिन्न थेराप्युटिक क्षेत्रका ६० भन्दा बढी औषधिजन्य उत्पादन बजारमा ल्याएको दाबी गरेको छ।

‘Wellbeing for All’ अर्थात् ‘सबैका लागि सु–स्वास्थ्य’ भन्ने मूल नाराबाट अघि बढिरहेको कम्पनीले नेपालमा आवश्यक औषधिको उत्पादनमार्फत मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउन योगदान पुर्‍याउने लक्ष्य राखेको जनाएको छ।

कम्पनीले आफ्ना उत्पादन डब्लूएचओ-जीएमपी तथा अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डअनुसार उत्पादन गर्दै आएको जनाएको छ। आईपीओ निष्काशनबाट कम्पनीको पुँजी विस्तार तथा औषधि उत्पादन क्षमता बढाउन थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।