कृष्णभीरको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा, असोज १ देखि यातायात सञ्चालन गर्ने तयारी

कृष्णभीरको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा, असोज १ देखि यातायात सञ्चालन गर्ने तयारी

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएपछि निर्माण थालिएको नयाँ ट्र्याकको काम अन्तिम चरणमा पुगेको छ । निर्माण कम्पनीका इन्जिनियर ईश्वर नेपालका अनुसार नयाँ ट्र्याक निर्माणको ११औँ दिन ग्राभेलिङ, स्लोप कटिङ र नाली निर्माणको काम भइरहेको छ । सम्भवतः असोज १ गतेदेखि नियमित यातायात सञ्चालन गर्ने गरी काम तीव्र पारिएको उनले बताए ।

आइतबार भित्तातर्फको कटिङ तथा सडक सम्याउने काम सम्पन्न भएपछि परीक्षणका रूपमा केही सवारीसाधन सञ्चालन गराइएको थियो । परीक्षण सफल भए पनि अहिले नयाँ ट्र्याक सर्वसाधारणका लागि खुला गरिएको छैन ।

पहिलो चरणमा ९–१० दिनसम्म ११–१२ वटा उपकरण परिचालन गरिएकोमा अहिले करिब ४०–५० जना दक्ष तथा अदक्ष मजदुर खटिएका छन् । आवश्यकताअनुसार ग्रेडर, रोलर र एक्साभेटरसहित पाँच–छ वटा हेभी उपकरण प्रयोग भइरहेका छन् ।

करिब ३०० मिटर लामो नयाँ ट्र्याकमा सात मिटर चौडाइको सडक र नालीसहित करिब साढे सात मिटरको संरचना निर्माण गरिएको छ । नदीबाट ल्याइएको गेग्रान प्रयोग गरी ग्राभेलिङ तथा सडकको किनारमा ड्रेन र पाइप राख्ने काम भइरहेको छ ।

नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रले ग्रेडिङको काम सकिएपछि फिनिसिङको काम भइरहेको बताए । उनका अनुसार आइतबार परीक्षणका लागि मात्रै केही सवारीसाधन पास गराइएको थियो ।

‘सर्वसाधारण नयाँ ट्र्याक खुला गरिएको भ्रममा नपर्नुहोला । परीक्षणका लागि मात्र केही सवारीसाधन पास गराइएको हो,’ मिश्रले भने । थप पहिरो वा अन्य समस्या नआए असोज १ गतेसम्म निर्माण सम्पन्न गरी नयाँ ट्र्याकबाट नियमित सवारीसाधन सञ्चालन गर्ने योजना रहेको मिश्रले बताए ।