प्रधानमन्त्री शाहले असोज ८ गते राष्ट्रसंघ महासभामा सम्बोधन गर्ने

प्रधानमन्त्री शाहले असोज ८ गते राष्ट्रसंघ महासभामा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा आगामी असोज ८ गते (२४ सेप्टेम्बर) सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। नेपालबाट प्रस्ताव गएपछि संयुक्त राष्ट्रसंघले वक्ताहरूको सूची संशोधन गर्दै प्रधानमन्त्री शाहका लागि असोज ८ गते सम्बोधनको समय निर्धारण गरेको हो। न्यूयोर्कस्थित नेपाली नियोगबाट प्राप्त उक्त जानकारी परराष्ट्र मन्त्रालय हुँदै प्रधानमन्त्रीको सचिवालयमा पुगेको छ।

संयुक्त राष्ट्रसंघको संशोधित तालिकाअनुसार २४ सेप्टेम्बरको दिउँसो ३ बजेदेखि राति ९ बजेसम्म १८ जना नेताले महासभालाई सम्बोधन गर्नेछन्। सो सूचीमा नेपालका सरकार प्रमुख १७औँ वक्ताका रूपमा रहेका छन्।

यसअघि महासभामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले सम्बोधन गर्ने तयारी थियो। तर भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री शाह आफैँ महासभामा सहभागी भएर सम्बोधन गर्ने तयारी अघि बढेको हो।

प्रधानमन्त्री शाहले सम्बोधनका क्रममा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको भोटेकोशीजस्ता विपद्, त्यसबाट भएको क्षति तथा जलवायु न्याय र क्षतिपूर्तिको विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउने तयारी गरिएको छ।

प्रधानमन्त्रीको अमेरिका भ्रमण छोटो बनाउने तयारी भइरहेको छ। देश विपद्पछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाको चरणमा रहेकाले महासभामा सम्बोधन गरेपछि उनी छिट्टै स्वदेश फर्किने सम्भावना रहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

प्रधानमन्त्री शाहको नेतृत्वमा जाने प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनाल पनि सहभागी हुनेछन्। प्रधानमन्त्रीको भ्रमण टोलीमा प्रमुख सल्लाहकार कुमार बेन, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार र फोटोग्राफर विनय शाक्य रहने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

त्यस्तै परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघ हेर्ने महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल, शिष्टाचार महापाल कुमारराज खरेल तथा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली नियोग प्रमुख लोकबहादुर थापा पनि प्रतिनिधिमण्डलमा रहने बताइएको छ।