

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङमा भएको क्षति अत्यन्तै विशेष र अन्तर्राष्ट्रियस्तरमै नौलो प्रकृतिको रहेको बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा भदौ १० गते आएको भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिबारे जानकारी दिँदै प्रधानमन्त्री शाहले नेपालका जलविद्युत् आयोजनाका सुरुङमा बाढीले पुर्याएको क्षतिसँग जुध्न तत्काल आवश्यक पर्ने विज्ञता र प्रविधि विश्वमै सीमित रहेको बताए।
उनका अनुसार अन्तर्राष्ट्रियस्तरमा सुरुङभित्र पहिरो खसेपछि त्यसलाई हटाएर उद्धार गर्ने अनुभव रहे पनि नेपालमा भने बाढीसँगै आएको ठूलो मात्राको हिलो, माटो र गेग्रानले सुरुङ पूर्ण रूपमा पुरिएकाले अवस्था फरक रहेको छ।
नेपालसँग पनि यस प्रकृतिको उद्धारका लागि पर्याप्त प्रविधि र अनुभव तत्काल उपलब्ध नभएको प्रधानमन्त्री शाहले संसद्मा बताए।
‘विभिन्न राष्ट्रमा जति उद्धार भएका थिए, त्योभन्दा यहाँ नेपालमा बिल्कुलै फरक किसिमको अवस्था हो। त्यसैले जतिबेला बाढीले बगाएर ल्याएको हिलो सुक्छ, जतिबेला त्यहाँ अडिने ठाउँ हुन्छ र सुरुङमा पसेर ब्रेक गर्न सक्ने स्थिति बन्छ, तब मात्रै उद्धार अघि बढाउन सकिन्छ,’ उनले भने।
एउटै सुरुङमा धेरैवटा एक्स्काभेटर परिचालन गरेर एकैपटक काम गर्नसमेत सम्भव नभएको उनले बताए। सुरुङ तथा घटनास्थलको संरचनागत सीमाका कारण एकपटकमा एक–दुईवटाभन्दा बढी एक्स्काभेटर परिचालन गर्न नसकिने उनको भनाइ छ।
‘एक चोटिमा एउटा टनेलमा एक–दुईवटा भन्दा बढी एक्स्काभेटरले काम गर्न सक्दैन। त्यसको एउटा सीमा छ। सीमाभन्दा बाहिर गएर एक्स्काभेटर लगाउन सकिँदैन,’ प्रधानमन्त्री शाहले भने।
खोज तथा उद्धारमा खटिएका टोलीले निरन्तर काम गरिरहेको उल्लेख गर्दै उनले कठिन परिस्थितिका बाबजुद उद्धारकर्ता विचलित नभएको बताए।
‘उद्धारकर्ताहरूले आफ्नो काम गरिरहनुभएको छ। हामी विचलित भएका छैनौँ,’ प्रधानमन्त्री शाहले भने।