बाढीको आठौँ दिन पनि जलविद्युत् आयोजनाका सुरुङमा उद्धार जारी

बाढीको आठौँ दिन पनि जलविद्युत् आयोजनाका सुरुङमा उद्धार जारी

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित विभिन्न जलविद्युत् आयोजनाका टनेल (सुरुङ)मा बुधबार पनि खोज तथा उद्धार कार्य जारी रहेको छ। बाढी आएको आठौँ दिनसम्म पनि सुरुङभित्र फसेकाको खोजीमा उल्लेखनीय सफलता हात पर्न सकेको छैन।

नेपाली सेनासँगै भारत, चीन र दक्षिण कोरियाबाट आएका सुरुङ उद्धार विशेषज्ञसहितको टोलीले विभिन्न आयोजनामा खोज तथा उद्धार गरिरहेको छ।

नेपाली सेनाका अनुसार रसुवागढी हाइड्रोपावरको सुरुङमा उद्धार टोली करिब १५० मिटरभित्र पुगेको छ। ठूला चट्टानका कारण थप अगाडि बढ्न समस्या भएकाले बुधबार पुनः खोज तथा उद्धारलाई निरन्तरता दिइएको छ।

त्यस्तै, लाङटाङ हाइड्रोमा विदेशी विशेषज्ञसहित २५ जनाको संयुक्त टोलीले सुरुङभित्र करिब १५० मिटरसम्म प्रवेश गरी खोजी गरिरहेको सेनाले जनाएको छ।

चिलिमे हाइड्रोपावरमा पनि विदेशी विशेषज्ञसहितको संयुक्त टोली परिचालन गरिएको छ। अपर त्रिशूली–१, हाँकुमा नेपाली सेनाको टोलीले खोज तथा उद्धार गरिरहेको छ।

त्रिशूली–३ ‘ए’मा नेपाली सेनासहित ९३ जनाको संयुक्त टोलीले तीनवटा स्काभेटर र एउटा बबक्याट प्रयोग गरी माटो तथा भग्नावशेष हटाउने काम गरेको छ। कम्प्रेसर मेसिन, ब्रेकर तथा ब्लास्टिङको प्रयोगपछि सुरुङको आउटलेट भेटिएको सेनाले जनाएको छ। वर्षाका कारण सुरुङमा जमेको करिब १.५ मिटर पानी पम्पमार्फत बाहिर निकाल्ने काम पनि गरिएको छ।

त्यस्तै, त्रिशूली–३ ‘बी’मा नेपाली सेनाका ६१, तीन जना गैरसैनिक तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोली खोज तथा उद्धारमा खटिएको छ। टोलीले आयोजनाको कार्यालय तथा निवास पहिचान गरी उक्त क्षेत्रमा पुग्न स्काभेटरमार्फत बाटो निर्माण गरिरहेको सेनाले जनाएको छ।

विभिन्न आयोजनामा सुरुङभित्र रहेका व्यक्तिको सम्भावित अवस्थाबारे जानकारी लिन उद्धार टोलीले आधुनिक उपकरण तथा प्राविधिक विधिको प्रयोग गर्दै खोजी कार्यलाई निरन्तरता दिएको छ।