बाढीको असर नेप्सेमा कायमै, ४३ अंकले घट्यो सेयर बजार

बाढीको असर नेप्सेमा कायमै, ४३ अंकले घट्यो सेयर बजार

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्से ४३.८९ अंकले घटेको छ। आजको गिरावटपछि नेप्से परिसूचक २ हजार ५१३ विन्दुमा कायम भएको छ।

कारोबार रकम पनि केही घटेको छ। अघिल्लो दिन ३ अर्ब ७८ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ३ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भयो। बजार खुलेदेखि नै ओरालो लागेको नेप्से दिनभर रातोमै रह्यो। आज २१ कम्पनीको सेयर मूल्य बढ्दा २५३ कम्पनीको घटेको छ भने चार कम्पनीको मूल्य स्थिर रह्यो।

बाढीपछि लगातार दबाबमा रहेका निर्जीवन बीमा, अन्य र जलविद्युत् समूहमा आज पनि उच्च गिरावट आएको छ। निर्जीवन बीमा समूह ५.०३ प्रतिशत, अन्य समूह ३.३० प्रतिशत र जलविद्युत् समूह २.९४ प्रतिशत घटेका छन्।

गत बुधबार आएको विनाशकारी बाढीका कारण एक दर्जनभन्दा बढी जलविद्युत् आयोजना प्रभावित भएपछि जलविद्युत् कम्पनीको सेयरमा दबाब परेको हो। त्यस्तै, सवारीसाधन, घर तथा जलविद्युत् आयोजनासहित विभिन्न सम्पत्तिको बीमा दाबी भुक्तानी बढ्ने अनुमानका कारण निर्जीवन बीमा र अन्य समूह प्रभावित भएको देखिन्छ। अन्य समूहमा नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्स कम्पनीसमेत पर्छन्।

अन्य समूहबाहेक बैंकिङ १ प्रतिशत, विकास बैंक ०.९६, फाइनान्स १.४१, होटल तथा पर्यटन २.४४, लगानी १.१९, जीवन बीमा १.९७, माइक्रोफाइनान्स १.१४ र व्यापार १.११ प्रतिशत घटेका छन्।

यता उत्पादन तथा प्रशोधन समूह भने ०.७० प्रतिशत बढेको छ। बाढीपछिको पुनर्निर्माणमा सिमेन्टको माग बढ्ने अपेक्षाले सिमेन्ट कम्पनीको सेयरमा सकारात्मक प्रभाव परेको हो।आज उपकार लघुवित्तको सेयर मूल्य सर्वाधिक १३.१६ प्रतिशत बढेको छ। घोराही सिमेन्ट ७.५७ प्रतिशत, पाल्पा सिमेन्ट ४.०३ प्रतिशत र एसवाई प्यानल ३.९१ प्रतिशत बढेका छन्।

यता मैलुङखोला जलविद्युत्को सेयर मूल्य १४.९८ प्रतिशत, रसुवागढी हाइड्रोपावर ११.७६ प्रतिशत, चिलिमे हाइड्रोपावर १०.४९ प्रतिशत र माण्डु हाइड्रोपावर ९.३० प्रतिशत घटेका छन्।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सर्वोत्तम पेन्ट्स, रिलायन्स स्पिनिङ मिल्स, चिलिमे हाइड्रोपावर र एसवाई प्यानल अगाडि रहे।