

काठमाडौँ । रसुवालगायत भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एकै दिन ३८ करोड ५६ लाख रुपैयाँभन्दा बढी सहयोग रकम जम्मा भएको छ। शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत अर्थ मन्त्रालयमा विभिन्न २७ संस्था तथा व्यक्तिले राहत कोषका लागि आर्थिक सहयोग हस्तान्तरण गरेका हुन्।
सहयोग गर्ने संस्थामध्ये सूर्य नेपाल प्रालिले सबैभन्दा बढी १५ करोड रुपैयाँ सहयोग गरेको छ। यस्तै, प्राइम बैंकले ३ करोड १० लाख, कृषि विकास बैंकले ३ करोड र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेका छन्।
त्यस्तै, हिमालयन बुलियन कम्पनी लिमिटेडले १ करोड १ लाख, एग्रो थाईफुड्स प्रालिले १ करोड, एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ करोड १ लाख र सूर्यज्योति लाइफ इन्स्योरेन्सले १ करोड रुपैयाँ राहत कोषमा सहयोग गरेका छन्।
उद्योगी विजयकुमार शाहले १ करोड, पद्मज्योति समूहअन्तर्गतको स्याकार ट्रेडिङले १ करोड तथा राजी राणाले व्यक्तिगत रूपमा १ करोड ९ लाख ८० हजार रुपैयाँ सहयोग गरेका छन्।
यस्तै, डब्लूडब्लूएफ नेपालले १ करोड, मोरङ अटो वर्क्सले १ करोड ११ लाख, जावलाखेल डिस्टिलरीले १ करोड, हिमालयन डिस्टिलरीले १ करोड, अल्फा अटोमोटिभ प्रालिले १ करोड तथा सोलु हाइड्रोपावरले पनि १ करोड रुपैयाँ राहत कोषका लागि प्रदान गरेका छन्।
नेपाल सिमेन्ट उत्पादक संघले ५१ लाख, मुक्तिनाथ विकास बैंकले ५० लाख र लुम्बिनी विकास बैंकले २५ लाख रुपैयाँ सहयोग गरेका छन्।
सीएएस ट्रेडिङ हाउसले १ लाख ११ हजार, नेपाल चिया विकास कर्पोरेसनले ११ लाख, सिल्भर लाइनिङ प्रालिले १ लाख ११ हजार तथा एबाकस इन्साइट्स प्रालिले १५ लाख रुपैयाँ सहयोग गरेका छन्। अन्य तीन संस्थाबाट समेत २६ लाख ६२ हजार रुपैयाँ सहयोग प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ।
अर्थ मन्त्रालयका अनुसार शुक्रबार मात्रै विभिन्न संस्था तथा व्यक्तिबाट कुल ३८ करोड ५६ लाख ६४ हजार २२२ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा भएको छ। उक्त रकम बाढीपीडितको खोज, उद्धार, राहत तथा पुनःस्थापनामा उपयोग गरिने अपेक्षा गरिएको छ।