

काठमाडौं । मलेसियाविरुद्धको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले टस हारेपछि पहिले बलिङ गर्ने भएको छ। खेल मलेसियामा जारी छ। एसिसी प्रिमियर कपको तयारीस्वरूप नेपालले मलेसियाविरुद्ध अभ्यास खेल खेलिरहेको हो। प्रतियोगिताको तयारीका लागि नेपाली टोलीले हालै भारतमा १० दिनको प्रशिक्षण पूरा गरेको थियो।
भारतमा रहँदा नेपालले कर्नाटकको राज्यस्तरीय टोलीसँग दुईवटा अभ्यास खेल खेलेको थियो। दुवै खेलमा नेपाल विजयी भएको थियो। भारतको प्रशिक्षणपछि नेपाली टोली त्यतैबाट मलेसिया पुगेको हो।
आसन्न एसिसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा परेको छ। नेपालले समूह चरणको पहिलो खेल भदौ १५ गते बहराइनसँग खेल्नेछ। त्यसपछि आयोजक मलेसिया, साउदी अरेबिया र हङकङसँग पनि खेल्ने तालिका छ। एसिसी प्रिमियर कप अगस्ट ३० देखि सेप्टेम्बर १२, २०२६ सम्म मलेसियामा आयोजना हुँदैछ।