रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनलमा पुग्ने पहिलो नेपाली

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनलमा पुग्ने पहिलो नेपाली

काठमाडौं । नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ऐतिहासिक सफलता हासिल गरेका छन्। चीनको साङ्घाईस्थित अक्टागनमा जारी रोड टु युएफसी सिजन–५को सेमिफाइनलमा न्युजिल्यान्डका कासिब मर्डोकलाई पराजित गर्दै रवीन्द्र प्रतियोगिताको फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बनेका हुन्।

‘बझाङ्गी बाघ’ उपनामले परिचित रवीन्द्रले लगातार उत्कृष्ट प्रदर्शन गर्दै रोड टु युएफसीको फाइनल यात्रा तय गरेका हुन्। अब फाइनल जित्न सके उनले विश्वकै प्रतिष्ठित एमएमए संस्था युएफसीसँग व्यावसायिक सम्झौता गर्ने अवसर पाउनेछन्।

यो खेलसँगै बान्टमवेट विधामा रवीन्द्रको व्यावसायिक रेकर्ड ११ खेलमा १० जित र एक हार पुगेको छ। उनले सन् २०२३ मा इस्माइल खानसँग एकमात्र पराजय व्यहोरेका थिए। त्यसयता भने उनी लगातार विजयी हुँदै आएका छन्।

गत वर्ष भारतको नोएडामा आयोजित म्याट्रिक्स फाइट नाइट–१७मा भारतका चर्चित फाइटर चुनरेङ कोरेनलाई तेस्रो चरणमा नकआउट गर्दै रवीन्द्रले बान्टमवेट उपाधि जितेका थिए। उनी उक्त प्रतियोगिताको बान्टमवेट उपाधि जित्ने पहिलो नेपाली फाइटरसमेत बने।

त्यसपछि गत मेमा मकाउमा भएको रोड टु युएफसी सिजन–५ को क्वार्टरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै रवीन्द्रले सेमिफाइनलमा स्थान बनाएका थिए।

त्यससँगै उनी रोड टु युएफसीको सेमिफाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बनेका थिए। अब फाइनलमा पुगेसँगै उनले नेपाली एमएमएको इतिहासमा अर्को महत्वपूर्ण कीर्तिमान थपेका छन्।