

कञ्चनपुर । सामान्य प्रशासन तथा भूमिसुधारमन्त्री प्रतिभा रावलले देशभरको सुकुम्बासी समस्या ५०० दिनभित्र समाधान गर्ने घोषणा गरेकी छन्। कञ्चनपुरमा स्थानीय सुकुम्बासी बस्तीका बासिन्दालाई सम्बोधन गर्दै मन्त्री रावलले सरकार गठन भएको पहिलो दिनदेखि नै भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि काम भइरहेको बताइन्।
उनले सुकुम्बासीलाई बिना विकल्प विस्थापित नगरिने स्पष्ट पार्दै कानुनअनुसार लालपुर्जा पाउनुपर्ने सबैलाई लालपुर्जा उपलब्ध गराउने आश्वासन दिइन्। ‘डोजर लगाएर उठाइदिने हो कि भन्ने त्रास नपाल्नुस्,’ उनले भनिन्, ‘जसले कानुनसम्मत तरिकाले लालपुर्जा पाउनुपर्ने हो, उहाँहरूले पाउनुहुन्छ।’
कतिपय बस्तीका जग्गा नकारात्मक सूचीमा परेको भए पनि आवश्यक कानुन र नीतिगत परिवर्तन गरेर समस्या समाधान गर्ने प्रयास भइरहेको उनको भनाइ छ।
मन्त्री रावलले सुकुम्बासीसँगै सहकारी पीडितको समस्या पनि सरकारको प्राथमिकतामा रहेको बताइन्। समस्या जटिल र कानुनी अड्चनयुक्त भएकाले केही समय लाग्ने भए पनि सरकार समाधानका लागि निरन्तर काम गरिरहेको उनले उल्लेख गरिन्।
यसै क्रममा उनले आफूलाई स्वागत गर्न तयार पारिएको अबिर र खादा अस्वीकार गर्दै काम पूरा भएपछि मात्रै सम्मान स्वीकार गर्ने बताइन्। ‘पहिला तपाईंहरूको वर्षौँदेखिको समस्या समाधान हुनुपर्छ, त्यसपछि मात्रै मैले अबिर र खादा लगाउने हो,’ उनले भनिन्।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी वा अन्य कुनै दलका नेताहरूलाई काम पूरा नगरी सम्मान गर्न हतार नगर्नसमेत आग्रह गरिन्। मन्त्री रावलले सुकुम्बासी समस्या चुनावी एजेन्डा वा फन्डा बन्न नदिने बताउँदै धैर्य गर्न आग्रह गरिन्। अर्को पटक आफू बस्तीमा आउँदा समस्या समाधानको खुसीयालीमा अबिर र खादा लगाउने उनको भनाइ थियो।