

काठमाडौं । सावित्री धामीको उत्कृष्ट अर्धशतक र बलरहरूको घातक प्रदर्शनमा नेपालले एसिसी महिला यू–१९ प्रिमियर कपमा कतारलाई १०५ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा १३१ रनको लक्ष्य पछ्याएको कतार १२ ओभरमै सबै विकेट गुमाउँदै २५ रनमा समेटियो। कतारका ब्याटरबाट जम्मा १३ रन मात्र बने भने टोलीले १२ रन अतिरिक्त प्राप्त गरेको थियो।
नेपालका लागि रचना कुमारी चौधरी र रिया शर्माले समान ३–३ विकेट लिए। रचनाले ३ ओभरमा २ रन मात्र खर्चिएर ३ विकेट झारिन् भने रियाले ६ रन दिएर ३ विकेट हात पारिन्। मनिषा उपाध्यायले २ तथा अनु कडायतले १ विकेट लिइन्।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै १३० रन बनाएको थियो। ओपनर साना प्रविण र सावित्री धामीले पहिलो विकेटका लागि ८० रनको साझेदारी गर्दै टोलीलाई उत्कृष्ट सुरुआत दिलाएका थिए।
साना २७ रनमा आउट भइन् भने सावित्रीले ४७ बलमा ५ चौकासहित ५२ रनको अर्धशतकीय इनिङ्स खेलिन्। अञ्जिला पाठक २२ रनमा अविजित रहिन्। कप्तान सोनी पाख्रिन भने खाता खोल्न नसकी आउट भएकी थिइन्।
कतारका लागि लिहाना अवेशकाराले २ तथा फातिमा मुकादमले १ विकेट लिइन्। यो जितसँगै नेपालले प्रतियोगितामा सुखद सुरुआत गरेको छ। अब नेपालले आफ्नो अर्को खेल सिंगापुरसँग खेल्नेछ।