स्पेन १६ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा, रोनाल्डोको पोर्चुगल बाहिरियो

स्पेन १६ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा, रोनाल्डोको पोर्चुगल बाहिरियो

काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत अन्तिम १६ को रोमाञ्चक भिडन्तमा स्पेनले पोर्चुगललाई १-० ले स्तब्ध पार्दै १६ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।

अमेरिकाको डलास स्टेडियममा गएराति सम्पन्न खेलमा अधिकांश समय दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि नतिजा इन्जुरी समयमा मात्रै तय भयो। स्पेनका मिकेल मेरिनोले दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा फेरान टोरेसको उत्कृष्ट पासलाई सदुपयोग गर्दै निर्णायक गोल गरे। उक्त गोल नै स्पेनलाई अन्तिम आठमा पुर्‍याउन पर्याप्त बन्यो।

विश्वकप उपाधिको प्रमुख दाबेदारमध्ये एक मानिएको पोर्चुगलका लागि यो हार ठूलो धक्का बनेको छ। स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको टोली अन्तिम १६ बाटै बाहिरिएपछि विश्वकप यात्रा अप्रत्याशित रूपमा टुंगिएको छ।

यसअघि सन् २०२२ को विश्वकपमा पोर्चुगल क्वार्टरफाइनलसम्म पुगेको थियो। यसपटक भने टोलीले त्यस उपलब्धिलाई दोहोर्याउन सकेन। स्पेनका लागि भने यो जित ऐतिहासिक पुनरागमनको संकेत बनेको छ। सन् २०१० मा विश्व च्याम्पियन बनेपछि लगातार निराशाजनक प्रदर्शन गरेको स्पेनले पहिलोपटक १६ वर्षपछि विश्वकपको क्वार्टरफाइनल यात्रा तय गरेको हो।

सन् २०१४ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको स्पेन २०१८ र २०२२ मा अन्तिम १६ मै रोकिएको थियो। यसपटक भने त्यो बाधा पार गर्दै उपाधि यात्रालाई निरन्तरता दिएको छ।

पोर्चुगलले यसअघि नकआउट चरणको पहिलो खेलमा क्रोएसियालाई हराउँदै अन्तिम १६ मा स्थान बनाएको थियो। तर स्पेनविरुद्धको चुनौती पार गर्न नसक्दा उसको अभियान समयअघि नै समाप्त भएको छ। अब स्पेनले सेमिफाइनल प्रवेशका लागि क्वार्टरफाइनलमा बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ।