क्यानडामाथि ३-० को शानदार जित, मोरक्को विश्वकपको क्वार्टरफाइनलमा

क्यानडामाथि ३-० को शानदार जित, मोरक्को विश्वकपको क्वार्टरफाइनलमा

काठमाडौं । फिफा विश्वकप-२०२६ अन्तर्गत अन्तिम १६ को खेलमा सहआयोजक क्यानडालाई ३-० गोलले पराजित गर्दै मोरक्को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलमा मोरक्कोले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै सहज जित निकाल्यो।

मोरक्कोको जितमा अज्जेदिन ओउनाहीले दुई तथा सुफियान रहिमीले एक गोल गरे। क्यानडाले भने खेलभर कुनै गोल फर्काउन सकेन। खेलको ५०औँ मिनेटमा कप्तान अच्राफ हाकिमीको पासमा ओउनाहीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाए। त्यसपछि उनले ८२औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।

इन्जुरी समयको अन्तिम मिनेटमा रहिमीले थप एक गोल गरेपछि मोरक्कोले ३-० को प्रभावशाली जित सुनिश्चित गर्यो।

यससँगै सातौँ पटक विश्वकप खेलिरहेको मोरक्को दोस्रो पटक क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएको छ। सन् २०२२ को विश्वकपमा मोरक्को पहिलो अफ्रिकी राष्ट्रका रूपमा सेमिफाइनल पुगेको इतिहास रचेको थियो।

यता, पहिलो पटक विश्वकपको नकआउट चरणमा पुगेको सहआयोजक क्यानडाको यात्रा भने अन्तिम १६ मै टुंगिएको छ। क्यानडा जारी प्रतियोगिताबाट बाहिरिने पहिलो आयोजक राष्ट्र बनेको छ। अब मोरक्कोले सेमिफाइनल प्रवेशका लागि क्वार्टरफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। फ्रान्सले अन्तिम १६ मा पाराग्वेलाई १–० ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो।