

काठमाडौं । फ्रान्स फिफा विश्वकप-२०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। अन्तिम १६ अन्तर्गत भर्खरै सम्पन्न खेलमा पाराग्वेलाई १-० गोलले पराजित गर्दै फ्रान्सले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो।
फ्रान्सको जितमा कप्तान किलियन एम्बाप्पेले गरेको एकमात्र गोल निर्णायक बन्यो। उनले खेलको ७०औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
डिजिरे डुएलाई पाराग्वेका डिफेन्डरले पेनाल्टी क्षेत्रभित्र लडाएपछि भिडियो सहायक रेफ्री (भिएआर) को समीक्षा पश्चात् रेफ्रीले फ्रान्सलाई पेनाल्टी दिएका थिए। एम्बाप्पेले उक्त अवसरलाई सफलतापूर्वक सदुपयोग गर्दै टोलीलाई विजयी बनाए।
इन्जुरी समयमा एम्बाप्पेले थप दुई उत्कृष्ट अवसर सिर्जना गरे पनि पाराग्वेका गोलरक्षक ओर्लान्डो गिलले शानदार बचाउ गर्दै गोल हुन दिएनन्। यस गोलसँगै एम्बाप्पेको विश्वकपमा कुल गोल संख्या १९ पुगेको छ। उनी अर्जेन्टिनाका कप्तान लियोनल मेसीभन्दा एक गोलले मात्र पछि छन्। जारी विश्वकपमा भने एम्बाप्पेको यो सातौँ गोल हो र उनी गोल्डेन बुटको दौडमा मेसीसँग संयुक्त अग्रस्थानमा छन्।
अब फ्रान्सले सेमिफाइनल प्रवेशका लागि क्वार्टरफाइनलमा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। मोरक्कोले यसअघि क्यानडालाई ३–० ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो।
यता, पाराग्वेको विश्वकप यात्रा भने अन्तिम १६ बाटै समाप्त भएको छ।