अल्जेरियामाथि २-० को जितसहित स्विट्जरल्यान्ड अन्तिम १६ मा

अल्जेरियामाथि २-० को जितसहित स्विट्जरल्यान्ड अन्तिम १६ मा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को खेलमा अल्जेरियालाई २–० गोलले पराजित गर्दै स्विट्जरल्यान्डले अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा भएको खेलमा स्विट्जरल्यान्डले दुवै हाफमा एक–एक गोल गर्दै सहज जित दर्ता गरेको हो।

स्विट्जरल्यान्डका लागि ब्रिल एम्बोलो र डान एनडोएले एक–एक गोल गरे। खेलको १०औँ मिनेटमा जोहान मानजाम्बीको पासमा एम्बोलोले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए।

पहिलो हाफ १–० ले आफ्नो पक्षमा राखेको स्विट्जरल्यान्डले दोस्रो हाफ सुरु भएको ४८ सेकेन्डमै अर्को गोल थप्यो। नटिङहम फरेस्टका विंगर डान एनडोएले उत्कृष्ट फिनिसिङ गर्दै अग्रता दोब्बर बनाए।

खेलको ८१औँ मिनेटमा फाबियन रिडरले अग्रता थप फराकिलो बनाउने अवसर पाए पनि उनको प्रहार अल्जेरियाका गोलरक्षकले सहजै बचाएका थिए।

यस जितसँगै स्विट्जरल्यान्डले अन्तिम १६ मा स्थान बनाएको छ। अब उसले शनिबार हुने कोलम्बिया र घानाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

यता, अल्जेरिया भने राउन्ड अफ ३२ बाट बाहिरिने पाँचौँ अफ्रिकी टोली बनेको छ। यसअघि दक्षिण अफ्रिका, आइभरी कोस्ट, डिआर कंगो र सेनेगल पनि यही चरणबाट बाहिरिसकेका छन्। हालसम्म राउन्ड अफ ३२ खेलेका अफ्रिकी टोलीमध्ये मोरक्को मात्र अन्तिम १६ मा पुग्न सफल भएको छ।