

काठमाडौं । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले शुक्रबार साँझ अनुसन्धानका लागि शेर्पालाई पक्राउ गरेको हो।
सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराका अनुसार हात्तीगौँडास्थित टुङ्गराम इन्टरनेशनल एकेडेमीको ८ करोड ७८ लाख ३० हजार रुपैयाँ हिनामिना गरेको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार विद्यालयको कार्यकारी प्रमुखका रूपमा कार्यरत रहँदा शेर्पाले विभिन्न अनियमितता गर्दै व्यक्तिगत लाभ लिएको र संस्थालाई आर्थिक नोक्सानी पुर्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
अनुसन्धानका क्रममा शेर्पाले विद्यालयलाई अनुचित हानि पुर्याउने उद्देश्यले डर, त्रास तथा अनुचित प्रभाव प्रयोग गरी भक्तपुरको दधिकोटस्थित २९ रोपनी ४ आना जग्गा आफ्नै स्वामित्व रहेको कम्पनीलाई बिक्री गराएको आरोप पनि लागेको प्रहरीले जनाएको छ।
सीआईबीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।