विश्वकप लिग–२ सिरिजका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

विश्वकप लिग–२ सिरिजका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ। क्यानले रोहित पौडेलको कप्तानीमा टोली सार्वजनिक गरेको हो। टोलीको उपकप्तानमा दीपेन्द्रसिंह ऐरी रहेका छन्।

घोषित टोलीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, आशिफ शेख, इशान पाण्डे, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी समावेश छन्। त्यसैगरी सन्दीप जोरा, साहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्रीलाई रिजर्भ खेलाडीका रूपमा राखिएको छ।

नेपालले यसअघि घरेलु मैदानमा सम्पन्न लिग–२ का दुई सिरिजमा उत्कृष्ट प्रदर्शन गरेको थियो। हालसम्म २८ खेल खेलेको नेपालले ११ खेलमा जित, १५ खेलमा हार बेहोरेको छ भने दुई खेलको नतिजा आउन बाँकी छ। २४ अंकसहित नेपाल हाल लिग–२ को अंकतालिकामा पाँचौँ स्थानमा रहेको छ। अमेरिका ४३ अंकसहित शीर्ष स्थानमा रहँदा स्कटल्यान्ड ३८ अंकसहित दोस्रो स्थानमा रहेको छ। नेदरल्यान्ड्समा हुने आगामी सिरिज नेपालका लागि अंकतालिकामा सुधार गर्दै विश्वकप छनोट यात्रालाई थप मजबुत बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।