

काठमाडौं । फिफा विश्वकप २०२६ को नकआउट चरणको पहिलो खेलमा क्यानडा र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुने भएको छ। समूह ‘ए’ अन्तर्गत भएको अन्तिम खेलमा दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई १–० गोलले पराजित गर्दै इतिहासमै पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान सुरक्षित गरेको हो। उक्त जितसँगै दक्षिण अफ्रिका समूहको उपविजेता बन्दै अन्तिम ३२ मा पुगेको छ।
यता, समूह ‘बी’ को अन्तिम खेलमा स्विट्जरल्यान्डसँग २–१ गोलले पराजित भए पनि क्यानडा उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गर्न सफल भयो। यससँगै नकआउट चरणमा क्यानडा र दक्षिण अफ्रिकाबीचको भेट पक्का भएको छ। दुवै टोलीबीचको खेल आगामी आइतबार राति नेपाली समयअनुसार १२:४५ बजे अमेरिकाको लस एन्जलस स्टेडियममा हुनेछ।
दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको नकआउट चरणमा पुगेको टोली भएकाले यो खेल उसका लागि ऐतिहासिक अवसर हुनेछ। क्यानडा भने आफ्नो विश्वकप यात्रालाई थप अगाडि बढाउने लक्ष्यसहित मैदान उत्रिनेछ।