काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६ अनुसार एन्फामाथि निलम्बनको निर्णय गरेको जानकारी दिएको हो।
निलम्बनसँगै एन्फाले फिफाको सदस्य राष्ट्रका रूपमा प्राप्त गर्दै आएका सबै अधिकार गुमाएको छ। साथै, फिफा विधानको धारा १३ अन्तर्गत सदस्य राष्ट्रले पाउने सुविधा र अधिकारहरू पनि तत्कालका लागि स्थगित भएका छन्।
फिफाले जारी गरेको निर्णयअनुसार निलम्बन अवधि कायम रहँदासम्म एन्फासँग आबद्ध नेपाली राष्ट्रिय फुटबल टोली तथा क्लब टोलीहरूले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन्।
फिफाले अर्को सूचना जारी नभएसम्म एन्फामाथिको निलम्बन यथावत् रहने जनाएको छ। यस निर्णयले नेपाली फुटबलमा गम्भीर असर पर्ने देखिएको छ, किनकि राष्ट्रिय टोलीदेखि क्लब स्तरसम्मका सबै अन्तर्राष्ट्रिय गतिविधि प्रभावित हुनेछन्।