मेसी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता, क्लोजको कीर्तिमान तोडे

मेसी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता, क्लोजको कीर्तिमान तोडे

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको नयाँ कीर्तिमान कायम गरेका छन्। समूह ‘जे’ अन्तर्गत अस्ट्रियाविरुद्ध जारी खेलमा अर्जेन्टिनाका लागि पहिलो गोल गर्दै मेसीले विश्वकपमा आफ्नो कुल गोल संख्या १७ पुर्‍याएका हुन्। यससँगै उनले जर्मनीका पूर्व फरवार्ड मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमानलाई पछि पारेका छन्।

अमेरिकाको टेक्सास राज्यस्थित डलास स्टेडियममा भइरहेको खेलको ३८औँ मिनेटमा मेसीले गोल गरेका थिए। यसअघि उनले पाएको पेनाल्टी अवसर भने सदुपयोग गर्न सकेनन्।

३८ वर्षीय मेसीले गत साता अल्जेरियाविरुद्धको ३–० को जितमा ह्याट्रिक गर्दै क्लोजको कीर्तिमान बराबरी गरेका थिए। अस्ट्रियाविरुद्ध गोल गरेसँगै उनी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनेका छन्। उनले हालसम्म छ वटा विश्वकप प्रतियोगितामा सहभागिता जनाइसकेका छन्।

सन् २००६ मा पहिलो विश्वकप खेलेका मेसीले अर्जेन्टिनाका लागि २०१ खेलमा १२१ गोल गरिसकेका छन्। साथै, लगातार छ वटा विश्वकपमा गोल गर्ने दुर्लभ उपलब्धि हासिल गर्ने खेलाडीमध्ये उनी पनि एक बनेका छन्।

हाल इन्टर मियामीबाट व्यावसायिक फुटबल खेलिरहेका मेसीले उत्तर अमेरिकामा भइरहेको विश्वकप खेल्ने विषय अन्तिम समयसम्म खुलाएका थिएनन्। अन्ततः उनी अर्जेन्टिनाको उपाधि रक्षा अभियानको नेतृत्व गर्दै मैदानमा उत्रिएका छन्।

चार वर्षअघि अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाएका मेसीले फेरि एकपटक विश्व फुटबलमा आफ्नो नाम इतिहासमा स्वर्ण अक्षरले लेखाउन सफल भएका छन्।

विश्वकपका सर्वाधिक गोलकर्ताको सूचीमा मेसी १७ गोलसहित शीर्ष स्थानमा छन्। क्लोज १६ गोलसहित दोस्रो स्थानमा छन् भने ब्राजिलका महान् स्ट्राइकर रोनाल्डो १५ गोलसहित तेस्रो स्थानमा रहेका छन्। जर्मनीका गर्ड मुलर र फ्रान्सका किलियन एम्बाप्पे समान १४ गोलसहित त्यसपछि रहेका छन्।

अस्ट्रियामाथि जित हात पारे अर्जेन्टिना नकआउट चरणमा प्रवेश गर्नेछ। साथै, सोमबार हुने अर्को खेलमा जोर्डनले अल्जेरियालाई पराजित गर्न नसके अर्जेन्टिना समूह ‘जे’ को विजेतासमेत बन्नेछ।