

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली आगामी एसियाली खेलकुदका लागि छनोट भएको छ। एसियन गेम्स छनोट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा मलेसियाले चीनलाई पराजित गरेसँगै नेपाल र मलेसिया दुवैले एसियाली खेलकुदमा स्थान सुरक्षित गरेका हुन्।
दुई समूहमा विभाजन गरिएको छनोट प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, मलेसिया, चीन र कतार रहेका थिए। कतारले प्रतियोगितामा सहभागिता नजनाएपछि समूहका बाँकी टोलीहरूको समीकरण सहज बनेको थियो।
मलेसियाले चीनलाई हराएसँगै नेपाल र मलेसिया दुवै टोली एक खेल अगावै एसियाली खेलकुदका लागि छनोट हुन सफल भएका हुन्। अब नेपाल र मलेसियाबीच हुने खेलले समूह विजेताको टुंगो लगाउनेछ। दुवै टोली शीर्ष स्थान हासिल गर्दै प्रतियोगिताको अन्त्य गर्ने लक्ष्यमा रहनेछन्।
नेपालले यसअघि चीनविरुद्ध २२१ रनको फराकिलो जित दर्ता गर्दै प्रभावशाली प्रदर्शन गरेको थियो। उक्त खेलमा नेपाली ब्याटरहरूले कीर्तिमानी प्रदर्शन गर्दै ३१३ रनको विशाल योगफल तयार पारेका थिए।
२०औँ संस्करणको एसियाली खेलकुद जापानमा सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म आयोजना हुँदैछ। नेपालले अब उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित तयारी अघि बढाउनेछ।