

काठमाडौँ । एसियाली खेलकुद छनोटअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाल राष्ट्रिय क्रिकेट टोली ले चीन विरुद्ध २२१ रनको फराकिलो जित दर्ता गरेको छ । सिंगापुरस्थित सिंगापुर नेसनल क्रिकेट स्टेडियम मा आइतबार सम्पन्न खेलमा नेपालले दिएको ३१४ रनको विशाल लक्ष्य पछ्याएको चीन १९.२ ओभरमा ९२ रनमै समेटियो ।
चीनलाई सस्तैमा समेट्न कुशल मल्लले १.२ ओभरमा एक मेडनसहित ३ विकेट लिए । यस्तै सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट हात पारे भने नन्दन यादवले १ विकेट लिए ।
चीनका लागि सेनजियान झेङले सर्वाधिक ३१ रन बनाए । डु जिनहाओले १७ तथा कप्तान टियान सेनक्वुनले १२ रनको योगदान दिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै ३१३ रनको विशाल योगफल खडा गरेको थियो । यो नेपालले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको दोस्रो उच्च स्कोर हो ।
नेपालको इनिङ्समा ओपनर कुशल भुर्तेल चम्किए । उनले ४३ बलमा ५ चौका र १६ छक्काको मद्दतमा १२९ रन बनाए । भुर्तेलले मात्र ३५ बलमा शतक पूरा गर्दै नयाँ कीर्तिमानसमेत बनाए ।
दोस्रो विकेटका लागि कुशल भुर्तेल र कुशल मल्लले १७५ रनको साझेदारी गर्दै नेपालको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो विकेटका लागि सबैभन्दा ठूलो साझेदारीको कीर्तिमान कायम गरे । यसअघि सन् २०१९ मा पारस खड्का र आरिफ शेख ले सिंगापुरविरुद्ध १४५ रनको अविजित साझेदारी गरेका थिए ।
समग्रमा भने यो नेपालको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि विकेटका लागि दोस्रो ठूलो साझेदारी हो । पहिलो स्थानमा सन् २०२३ को एसियाली खेलकुदमा रोहित पौडेल र कुशल मल्लले मंगोलियाविरुद्ध गरेको १९३ रनको साझेदारी रहेको छ ।
भुर्तेलले अर्को ऐतिहासिक उपलब्धि पनि आफ्नो नाममा लेखाए । उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी बनेका छन् । ७७ खेलमा उनले ९९ छक्का प्रहार गरेका छन् । यसअघि यो कीर्तिमान दीपेन्द्रसिंह ऐरी को नाममा थियो, जसले ८९ छक्का प्रहार गरेका थिए ।
नेपालका कप्तान रोहित पौडेल १९ बलमा ६९ रन बनाएर अविजित रहे भने कुशल मल्लले ४७ बलमा ९५ रनको शानदार इनिङ्स खेल्दै टोलीलाई विशाल स्कोरसम्म पुर्याएका थिए ।
यो जितसँगै नेपालले प्रतियोगितामा प्रभावशाली सुरुआत गर्दै आफ्नो उपाधि दाबेदारी बलियो बनाएको छ