मलेसिया पठाइदिने भन्दै ३ लाख माग्ने म्यानपावर एजेन्ट पक्राउ

मलेसिया पठाइदिने भन्दै ३ लाख माग्ने म्यानपावर एजेन्ट पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया जान लागेका सप्तरीका अजयकुमार यादवसँग अवैध रूपमा ३ लाख रुपैयाँ माग्ने एक म्यानपावर कम्पनीका एजेन्ट पक्राउ परेका छन् । सरकारको ‘फ्रि भिसा, फ्रि टिकट’ नीतिअनुसार मलेसिया जान बढीमा १० हजार रुपैयाँ मात्रै तिर्नुपर्ने व्यवस्था भए पनि कोटेश्वरस्थित ग्रान्ड स्विट जब नामक म्यानपावर कम्पनीले यादवसँग ३ लाख १० हजार रुपैयाँ मागेको आरोप लागेको छ ।

यादवले यसअघि नै ७० हजार रुपैयाँ बुझाइसकेका थिए । तर बाँकी २ लाख २० हजार रुपैयाँ नतिरेसम्म राहदानी, श्रम स्वीकृति र हवाई टिकट नदिने भन्दै कम्पनीले कागजात रोकेको पीडितको भनाइ छ ।

गत वैशाख २९ गते नै मलेसिया उड्ने तयारीमा रहेका यादव अतिरिक्त रकम तिर्न नसक्दा जानबाट रोकिएका थिए । पछि म्यानपावर कम्पनीले जेठ ३ गते उडाइदिने भन्दै बाँकी रकम ल्याउन दबाब दिएको थियो । त्यसपछि यादव शनिबार काठमाडौं आएका थिए ।

म्यानपावरका एक कर्मचारीले उनलाई तीनकुने गैरीगाउँस्थित पेट्रोल पम्प अगाडि पैसा लिएर आउन फोनमार्फत बोलाएका थिए । यसअघि नै यादवले आफूले भोगेको समस्याबारे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादव को सचिवालयलाई जानकारी गराइसकेका थिए ।

मन्त्री यादवका स्वकीय उपसचिव सरोज यादव, सञ्चारकर्मी तथा प्रहरी टोली घटनास्थल पुगेपछि म्यानपावरका ती कर्मचारीलाई नियन्त्रणमा लिइएको थियो । प्रहरीले उनलाई नियन्त्रणमा लिएर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुर्‍याएको जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिको साथबाट चारवटा राहदानी, हवाई टिकट र अन्य महत्त्वपूर्ण कागजात बरामद गरिएको छ । उनले अन्य व्यक्तिबाट समेत रकम उठाउने तयारी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ ।

प्रहरीले ‘फ्रि भिसा, फ्रि टिकट’ लागू भएको देशमा किन लाखौँ रुपैयाँ असुल्न खोजिएको भन्दै सोधपुछ गरेपछि आरोपित मौन बनेका थिए । प्रहरीको सक्रियतामा यादवको राहदानी, श्रम स्वीकृति, बिमा र हवाई टिकट फिर्ता गराइएको छ । उनी आइतबार मलेसिया उड्ने तयारीमा रहेका छन् ।

पीडित यादवले आफूलाई सुरुमा कुनै अतिरिक्त शुल्क नलाग्ने बताइएको भए पनि भिसा आएपछि लाखौँ रुपैयाँ मागेर धम्क्याइएको गुनासो गरे । उनले वैदेशिक रोजगारीका नाममा हुने ठगी रोक्न कडा कारबाही आवश्यक रहेको बताए ।

श्रममन्त्री यादवको सचिवालयले वैदेशिक रोजगारीमा जाँदा कुनै समस्या परे श्रम मन्त्रालयमा सिधै सम्पर्क गर्न आग्रह गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।