

काठमाडौं । संसारकै सबैभन्दा बढी जनसंख्या भएको देश भारत हो । तर विश्वमा एउटा यस्तो स्थान पनि छ, जहाँ जम्मा २७ जना मात्रै बसोबास गर्छन् । इङ्ग्ल्याण्ड नजिकै रहेको ‘सील्याण्ड’ नामक सूक्ष्म राष्ट्र (माइक्रोनेसन) संसारकै सबैभन्दा सानो राष्ट्रका रूपमा चर्चित छ । यो इङ्ग्ल्याण्डको सफोक समुद्री किनारबाट करिब १० किलोमिटर टाढा अवस्थित छ ।
सील्याण्ड वास्तवमा दोस्रो विश्वयुद्धका बेला बेलायती सेनाले निर्माण गरेको समुद्री किल्ला हो । युद्धपछि बेलायतले उक्त किल्ला खाली गरेपछि विभिन्न व्यक्तिहरूको नियन्त्रणमा रहँदै आएको छ । सन् २०१२ मा रोय बेट्स नामका व्यक्तिले आफूलाई सील्याण्डको राजकुमार घोषणा गरेका थिए । बेट्सको निधनपछि अहिले उनका छोरा माइकल बेट्सले यसको नेतृत्व गरिरहेका छन् ।
अन्तर्राष्ट्रिय मान्यता नपाएको भए पनि सील्याण्डको आफ्नै झण्डा, मुद्रा र टिकट रहेका छन् । करिब २५० मिटर क्षेत्रफलमा फैलिएको यो स्थानलाई ‘रफ फोर्ट’ नामले पनि चिनिन्छ ।
क्षेत्रफल अत्यन्तै सानो भएकाले यहाँ जीविकोपार्जनका स्रोत सीमित छन् । सामाजिक सञ्जालमार्फत सील्याण्डबारे जानकारी फैलिएपछि विश्वभरका मानिसहरूले आर्थिक सहयोग गर्न थालेका थिए । दान र सहयोगकै आधारमा यहाँका बासिन्दाको जीवनयापन चलिरहेको बताइन्छ । जीर्ण अवस्थामा रहेको यो समुद्री किल्ला अहिले पनि विश्वभरका मानिसका लागि चासो र कौतुहलको विषय बनेको छ ।