आशिफ शेखको ९४ रनमा नेपाल २५६ मा समेटियो, ओमानलाई २५७ रनको लक्ष्य

आशिफ शेखको ९४ रनमा नेपाल २५६ मा समेटियो, ओमानलाई २५७ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल राष्ट्रिय क्रिकेट टोलीले ओमान राष्ट्रिय क्रिकेट टोलीसमक्ष जितका लागि २५७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल एक बल अगावै २५६ रनमा अलआउट भयो।

नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ९४ रनको उत्कृष्ट पारी खेले। उनले ९७ बलमा ७ चौका र ५ छक्का प्रहार गरे। दोस्रो विकेटका लागि आशिफ र अर्जुन कुमालबीच १२२ रनको महत्वपूर्ण साझेदारी भएको थियो। अर्जुनले ४८ रनको योगदान दिए।

अन्य ब्याटरमध्ये दीपेन्द्र सिंह ऐरीले ३३, आरिफ शेखले ४३ तथा गुलशन झाले १७ रन बनाए। कप्तान रोहित पौडेल ९ रनमै आउट भए भने विनोद भण्डारीकरण केसी शून्यमै आउट भए। सन्दीप लामिछाने १ रनमा रनआउट हुँदा नन्दन यादवले २ रन जोडे।

ओमानका लागि नदिम खानले ३ विकेट लिए भने सकिल अहमद र हसनैन शाहले समान २–२ विकेट लिए। जितेन रामानन्दी र आर्यन विष्टले एक–एक विकेट हात पारे।

अब ओमानले केहीबेरमा २५७ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गर्नेछ।