

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानले होर्मुज स्ट्रेट हुँदै आवतजावत गर्ने तेल ट्यांकरहरूबाट शुल्क लिएको विषयमा आपत्ति जनाएका छन्।
ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै इरानले यस्तो कार्य गरिरहेको भए तुरुन्त बन्द गर्नुपर्ने चेतावनी दिएका हुन्। उनले उक्त व्यवहार ‘ठिक नभएको’ भन्दै यस प्रकारको व्यवस्था अमेरिका–इरानबीच भएको कुनै पनि सम्झौतामा समावेश नभएको दाबी गरेका छन्।
यसअघि पनि ट्रम्पले विभिन्न रिपोर्ट उद्धृत गर्दै होर्मुज स्ट्रेट पार गर्ने ट्यांकरहरूसँग शुल्क लिइएको विषय सार्वजनिक गर्दै त्यसलाई रोक्न आग्रह गरेका थिए।
यसैबीच, अमेरिका र इरानबीच हालै दुई हप्ताका लागि युद्धविराम गर्ने सहमति भएको भए पनि त्यसका शर्तहरूबारे विवाद देखिएको छ। ट्रम्पले उक्त सम्झौतामा ट्यांकरबाट शुल्क लिने व्यवस्था नरहेको बताएका छन्। तर इरानले प्रस्तुत गरेको दशबुँदे प्रस्तावको नवौँ बुँदामा भने होर्मुज स्ट्रेट प्रयोग गर्ने प्रत्येक जहाजबाट करिब २० लाख अमेरिकी डलर शुल्क लिने र त्यसलाई ओमानसँग बाँडफाँट गर्ने उल्लेख गरिएको छ।
युद्धविराम सम्झौतामा लेबनन मा आक्रमण रोक्ने विषय पनि समावेश छ वा छैन भन्ने विषयमा समेत विवाद जारी छ। सम्झौता घोषणा भएको भोलिपल्टै इजरायल ले लेबननमा हवाई हमला गर्दा २ सयभन्दा बढी मानिसको ज्यान गएको जनाइएको छ, जसले युद्धविराम नै संकटमा परेको संकेत गरेको छ।