

काठमाडौं । डोनाल्ड ट्रम्पले अमेरिका–इरानबीच चर्किँदै गएको सैन्य तनावका बीच दुई साताका लागि सैन्य कारबाही स्थगित गर्ने घोषणा गरेका छन्। यससँगै इजरायल पनि आक्रमण रोक्न सहमत भएको उनको भनाइ छ।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत इरानमाथिको बमबारी अस्थायी रूपमा रोक्ने सहमति भएको जनाउँदै यसलाई व्यापक युद्धविरामतर्फको प्रारम्भिक कदमका रूपमा व्याख्या गरेका छन्।
उनका अनुसार यो निर्णय शहबाज शरीफ र सेना प्रमुख असिम मुनिरसँगको छलफलपछि लिइएको हो। सम्भावित आक्रमण टार्न उनीहरूले आग्रह गरेका थिए। ट्रम्पले युद्धविराम सशर्त रहेको स्पष्ट गर्दै इरानले स्ट्रेट अफ होर्मुज पुनः खोल्नुपर्ने बताएका छन्। तनाव न्यून गर्न उक्त जलमार्ग खुला हुनु आवश्यक रहेको उनको भनाइ छ।
‘यो दुई पक्षीय युद्धविराम हुनेछ,’ ट्रम्पले भने, ‘यस अवधिमा दुवै पक्षले आक्रामक गतिविधि रोक्ने अपेक्षा गरिएको छ।’
उनले अमेरिकी सैन्य लक्ष्यहरू पूरा भइसकेको दाबी गर्दै दीर्घकालीन शान्ति सम्झौतामा प्रगति भएको पनि उल्लेख गरेका छन्। ट्रम्पका अनुसार इरानबाट १० बुँदे शान्ति प्रस्ताव प्राप्त भएको छ र अधिकांश महत्वपूर्ण विषयमा प्रारम्भिक सहमति भइसकेको छ।
ट्रम्पले दुई साताको युद्धविरामले दुवै पक्षलाई अन्तिम सम्झौतामा पुग्न सहज वातावरण बनाउने विश्वास व्यक्त गरेका छन्। उनले लामो समयदेखि जारी द्वन्द्व समाधानतर्फ उन्मुख भएको संकेत गरेका छन्।
यो घोषणा उनले तय गरेको अन्तिम समयसीमा सकिनुअघि आएको हो। यसअघि उनले इरानविरुद्ध कडा चेतावनी दिँदै ‘सभ्यता समाप्त पार्ने’ अभिव्यक्ति दिएका थिए, जसलाई परमाणु आक्रमणको संकेतका रूपमा समेत व्याख्या गरिएको थियो र अमेरिकाभित्रै आलोचना भएको थियो।
युद्धविराम घोषणापछि ह्वाइट हाउसले पनि कूटनीतिक पहल जारी रहने जनाएको छ। प्रेस सचिव क्यारोलिन लेभिटले आगामी रणनीति राष्ट्रपति ट्रम्पको धारणा अनुसार अघि बढ्ने बताएकी छन्।
उनले अमेरिकी प्रशासनले इरानलाई स्ट्रेट अफ होर्मुज खोल्न सहमत गराएको दाबी गर्दै अब थप संवाद अगाडि बढ्ने उल्लेख गरिन्। आगामी वार्ता पाकिस्तानमा हुने बताइएको छ। यद्यपि, त्यसले ठोस परिणाम दिन्छ कि दिँदैन भन्ने विषयमा अन्तर्राष्ट्रिय समुदायको चासो कायमै छ।