जय ट्रफीको उपाधि पुलिसले जित्यो, आर्मी ४ विकेटले पराजित

जय ट्रफीको उपाधि पुलिसले जित्यो, आर्मी ४ विकेटले पराजित

काठमाडौं । नेपाल पुलिस क्लबले जय ट्रफी क्रिकेटको उपाधि जित्दै उपाधि रक्षा गरेको छ।

बिहीबार सम्पन्न फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै पुलिसले लगातार दोस्रोपटक उपाधि आफ्नो नाममा पार्‍यो। गत संस्करणको फाइनलमा पनि पुलिसले आर्मीलाई नै हराएको थियो।

आर्मीले दिएको २२७ रनको लक्ष्य पुलिसले तेस्रो दिनको तेस्रो सत्रमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो। पुलिसको जितमा राशिद खानले सर्वाधिक ८१ रन बनाए भने कुशल भुर्तेल ले ५१ रनको योगदान दिए। दिलसाद अली ३१ रनमा अविजित रहँदा दिनेश खरेल ले २५ रन जोडे।

आर्मीका लागि पवन कार्की र शाहब आलमले २–२ विकेट लिए भने आकाश चन्द र भीम सार्की ले १–१ विकेट हात पारे।

दोस्रो दिनको समाप्तिमा १७८ रनको अग्रता बनाएको आर्मीले तेस्रो दिन थप ४८ रन जोड्दै दोस्रो इनिङमा २२६ रन बनाएको थियो। पहिलो इनिङमा दुवै टोलीले २२१–२२१ रन बनाएपछि खेल प्रतिस्पर्धात्मक बनेको थियो।

आर्मीको दोस्रो इनिङमा आकाश चन्द ले ३७, कुशल मल्ल ले ३६, शाहब आलम ले ३३ र भीम सार्की ले ३२ रन बनाए। सोमपाल कामी २३ रनमा अविजित रहे।

पुलिसका लागि सागर ढकाल ले ४ विकेट लिए भने ललित राजवंशी र करण केसी ले समान ३–३ विकेट लिए।

यसअघि पुलिस पहिलो इनिङमा २२१ रनमा समेटिँदा करण केसी ले अविजित ७२ रन बनाएका थिए भने कप्तान आरिफ शेख ले ४४ रन जोडे।

आर्मीका सोमपाल कामी ले पहिलो इनिङमा ५ विकेट लिएका थिए।

आर्मीले पहिलो इनिङमा २२१ रन बनाउँदा इमरान शेख ले सर्वाधिक ५० रन बनाएका थिए। पुलिसका राशिद खान ले ४ विकेट लिए भने करण केसी र ललित राजवंशी ले समान ३–३ विकेट लिए।