कैलालीमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु, एक घाइते

कैलालीमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु, एक घाइते

सुदूरपश्चिम । धनगढी–डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा घाइते भएका तीन जनाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार दुर्घटनामा घाइते भएका तीन जनालाई उपचारका लागि धनगढीतर्फ लैजाँदै गर्दा ज्यान गएको हो।

प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले सुप प्र ०१–०१०३१८७ नम्बरको मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–२ का २२ वर्षीय हरिश ओलीको मृत्यु भएको जानकारी दिए। सोही मोटरसाइकलमा पछाडि सवार गोदावरी नगरपालिका–६ लालपुरका २३ वर्षीय जीवन पाठक गम्भीर घाइते भएका छन् र उनको उपचार जारी छ।

त्यस्तै सुप प्र ०१–००९ प ७७८१ नम्बरको मोटरसाइकल चालक गोदावरी नगरपालिका–१ का करिब २६ वर्षीय योगेन्द्र शाह र पछाडि सवार करिब २३ वर्षीय हरिश पार्कीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मोटरसाइकल अत्यधिक गतिमा (प्रतिघन्टा १०० किलोमिटरभन्दा बढी) चलाइएको प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटनास्थलमा पाङ्ग्रा र पाटपुर्जा उछिट्टिएको अवस्थामा फेला परेको थियो।

मृतक ओली गोदावरीमा विवाह कार्यक्रममा सहभागी भई धनगढीतर्फ फर्किँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।