माघमा पनि घट्यो वाणिज्य बैंकको ब्याजदर, व्यक्तिगत मुद्दतिमा औसत ४.६८ प्रतिशत

माघमा पनि घट्यो वाणिज्य बैंकको ब्याजदर, व्यक्तिगत मुद्दतिमा औसत ४.६८ प्रतिशत

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता प्रशस्त रहँदा वाणिज्य बैंकहरूले माघ महिनाका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन्। पछिल्लो समय हरेक महिना ब्याजदर समायोजन गर्दै आएका बैंकहरूले यसपटक पनि व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपमा दर घटाएका हुन्।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औसत ४.६८४५ प्रतिशत ब्याज दिने भएका छन्। यो दर पुस महिनाको तुलनामा ०.१४९५ प्रतिशतविन्दु कम हो। पुसमा यस्तो निक्षेपको औसत अधिकतम ब्याजदर ४.८३४ प्रतिशत रहेको थियो।

२० बैंकमध्ये ११ वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएपछि समग्र औसत घट्न पुगेको हो। माघका लागि ब्याजदर घटाउने बैंकहरूमा हिमालयन बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स इन्टरनेशनल बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन्।

यीमध्ये हिमालयन बैंक र माछापुच्छ्रे बैंकले सबैभन्दा धेरै ०.५ प्रतिशतविन्दु ब्याजदर घटाएका छन्।

यता, एक वाणिज्य बैंकले भने व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर बढाएको छ। पुसमा सबैभन्दा कम ४.२५ प्रतिशत अधिकतम ब्याजदर दिएको प्राइम कमर्सियल बैंकले माघका लागि बढाएर ४.४ प्रतिशत पुर्‍याएको हो। बैंकले ब्याजदर ०.१५ प्रतिशतविन्दुले बढाएको छ।

संस्थागत मुद्दति निक्षेपतर्फ पनि ब्याजदर घट्ने क्रम जारी छ। माघ महिनाका लागि बैंकहरूको संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर ०.०६२५ प्रतिशतविन्दुले घटेको छ। यस अवधिमा चार वाणिज्य बैंकले संस्थागत मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् भने बाँकी १६ बैंकले पुस महिनाकै दरलाई निरन्तरता दिएका छन्।

बैंकहरूमा तरलता उच्च रहेकाले निक्षेपको ब्याजदर घट्ने क्रम अझै केही समय जारी रहने संकेत देखिएको छ।