अन्तिम खेलमै चम्कियो कर्णाली याक्स, साविक च्याम्पियन जनकपुर ३ रनले पराजित

अन्तिम खेलमै चम्कियो कर्णाली याक्स, साविक च्याम्पियन जनकपुर ३ रनले पराजित

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले साविक विजेता जनकपुर बोल्ट्सलाई ३ रनले पराजित गर्दै सान्त्वना जित हासिल गरेको छ। आइतबारको यस जितसँगै कर्णालीले दोस्रो सिजन ६ औँ स्थानमा समाप्त गरेको हो। कर्णाली र चितवन राइनोज दुवैको चार–चार अंक भए पनि नेट रनरेटका आधारमा कर्णाली अगाडि रहँदै छैटौँ स्थानमा उक्लिएको छ भने चितवन सातौँ स्थानमा झरेको छ।

लिग चरणमा पाँच खेलमा हार भोगेको कर्णालीले यसअघि लुम्बिनी लायन्सलाई नौ विकेटले पराजित गरेको थियो। उता, गत सिजनको उपाधि विजेता जनकपुर बोल्ट्स भने यसपटक पूर्ण रूपमा संघर्षरत रह्यो र अंक तालिकाको पुछारमै रहेर दोस्रो सिजनको यात्रा टुंग्यायो। जनकपुरले सात खेलमध्ये एक खेलमा मात्र जित हात पारेको हो।

कर्णालीले दिएको १३० रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको जनकपुर २० ओभरमा ७ विकेट गुमाउँदै १२६ रनमा रोकियो। जनकपुरका सञ्जय कृष्णमूर्तिले दमदार ५१ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। संगीत कोरेले २५ रन र कप्तान जान निकोल लफ्टी इटोनले १३ रन जोडे।

कर्णालीतर्फ विलियम बसिस्टोले २ विकेट लिए भने मार्क वाट, पवन सर्राफ, नन्दन यादव र सोमपाल कामीले समान १–१ विकेट झारे।

यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले ९ विकेटको क्षतिमा १२९ रनको प्रतिस्पर्धी योगफल तयार गरेको थियो। ओपनर इमरान शेखले ३३ रन बनाउँदै टीमलाई सशक्त प्रारम्भ दिलाए। गुल्सन झाले १९, प्रियांक पञ्चलले १६ तथा विलियम बसिस्टोले १५ रन जोडे। कप्तान सोमपाल कामी १८ रनमा अविजित रहे।

जनकपुरका ललित राजवंशी र आदित्य महतले २–२ विकेट लिए भने संगीत कोरे, अनिल साह र माज सदाकतले १–१ विकेट हात पारे। अब एनपीएलको पहिलो क्वालिफायर मंगलबार अपराह्न ४ बजे शीर्ष स्थानको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको विराटनगर किंग्सबीच हुनेछ।