१४ बैंकले घटाए निक्षेपको अधिकतम ब्याजदर, अब ५.७५ प्रतिशतसम्म मात्र पाइने

१४ बैंकले घटाए निक्षेपको अधिकतम ब्याजदर, अब ५.७५ प्रतिशतसम्म मात्र पाइने

काठमाडौं । कात्तिक महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदर पुनः घटाएका छन्। सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १९ बैंकले सार्वजनिक गरेको विवरणअनुसार असोजको तुलनामा कात्तिकमा निक्षेप ब्याजदर औसत ०.३१ प्रतिशत विन्दुले घटेको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भने अहिलेसम्म आफ्नो नयाँ दर सार्वजनिक गरेको छैन।

असोज महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ६ प्रतिशत ब्याजदर रहेकोमा कात्तिकमा यो घटेर ५.७५ प्रतिशत पुगेको छ।

अहिले सबैभन्दा धेरै ब्याज एनआइसी एशिया बैंकले ५.७५ प्रतिशतका दरले दिने भएको छ, जबकि हिमालयन बैंकले सबैभन्दा कम ४ प्रतिशत मात्रै ब्याज दिनेछ।

बैंकहरूले रेमिटेन्स खातामा व्यक्तिगत मुद्दती खाताभन्दा एक प्रतिशत बढी ब्याज दिने प्रावधान कायम राखेका छन्।

१४ बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर घटाएका छन् भने सिटिजन्स बैंकले मात्र दर बढाएको छ। बाँकी बैंकहरूले दर यथावत् राखेका छन्।

केही समयदेखि कर्जा लगानी योग्य रकम बढ्दो अवस्थामा रहेकाले बैंकहरूको ब्याजदर घट्दो क्रममा छ। हाल वाणिज्य बैंकहरूका कुल निक्षेपमा करिब १० खर्ब रुपैयाँभन्दा बढी कर्जा दिन मिल्ने रकम उपलब्ध रहेको छ।