

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ग्राहकहरूका लागि इन्टरनेट नहुँदासमेत बैंकिङ सेवा उपयोग गर्न सकिने USSD Mobile Banking सेवा सञ्चालनमा ल्याएको छ । यो सेवामार्फत साधारण मोबाइल सेटबाट समेत सजिलै आर्थिक कारोबार गर्न सकिने बैंकले जनाएको छ ।
बैंकका अनुसार यो सेवाको प्रयोगका लागि ग्राहकले राष्ट्रिय वाणिज्य बैंकमा खाता भएको हुनुपर्नेछ । ग्राहकले एकपटक बैंकमा गई रजिस्ट्रेशन गरेपछि जुनसुकै ठाउँबाट पनि इन्टरनेट बिना कारोबार गर्न सक्नेछन् ।
USSD Mobile Banking सेवाको वार्षिक रजिस्ट्रेशन शुल्क रु ५० मात्र तोकिएको छ । यो सेवा विश्वसनीय, सुरक्षित र सजिलो भएको बैंकको दाबी छ ।
साधारण मोबाइल सेटबाट समेत चलाउन सकिने यो सेवा ग्रामीण क्षेत्रमा इन्टरनेट पहुँच नपुगेका ग्राहकका लागि विशेष रूपमा उपयोगी हुने बैंकले जनाएको छ ।
राष्ट्रिय वाणिज्य बैंकले डिजिटल पहुँच र वित्तीय समावेशीकरण विस्तार गर्ने उद्देश्यका साथ यो सेवा सञ्चालनमा ल्याएको हो ।