

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा नेपाली कांग्रेसका ४८ जिल्ला कार्यालय जलेर ध्वस्त भएका छन्।
पार्टीका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आइतबार सार्वजनिक गरेको विवरणअनुसार देशभरका ४८ कार्यालयमा आगजनी गरिएको छ।
सूचीअनुसार झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, धनुषा, सर्लाही, रौतहट, बारा र पर्साका जिल्ला कार्यालय आन्दोलनकारीले जलाएका छन्। त्यस्तै सिन्धुली, नुवाकोट, काभ्रे, चितवन, मकवानपुर, ललितपुर, काठमाडौँ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, ग्याग्दी, बागलुङ, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान, दाङ, बाँकेका कार्यालयमा पनि आगजनी भएको छ।
यस्तै बर्दिया, डोल्पा, जुम्ला, मुगु, कालिकोट, सुर्खेत, डोटी, अछाम, दार्चुला, डडेलधुरा, कञ्चनपुर र कैलालीमा रहेको पार्टी कार्यालय पनि आन्दोलनकारीले जलाएका छन्।
कांग्रेसले यसअघि दिएको विवरणअनुसार पार्टीका ८ पदाधिकारीसहित ३६ नेताको घरमा आगजनी भएको थियो। पछिल्लो विवरणमा जिल्ला तथा स्थानीय तहका ९५ नेताको घरसमेत जलाइएको उल्लेख गरिएको छ।