

काठमाडौं । देशका मुख्य सडक अवरुद्ध भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आकस्मिक बैठक बसेको छ ।
शुक्रबार रातिदेखि नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा निरन्तर पहिरो खस्दै आएको छ । पहिरोको कारण सडक पूर्ण रूपमा अवरुद्ध भएपछि यात्रुहरू रातिदेखि नै अलपत्र परेका छन् ।
यातायात मन्त्री कुलमान घिसिङको अध्यक्षतामा बसेको बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासंघ र मजदुर प्रतिनिधिहरू सहभागी छन् । सरोकारवालाले सडकको अवस्थाबारे विस्तृत जानकारी दिइरहेका छन् ।
पहिरो पन्छाउन डोजर खटाइएको भए पनि निरन्तर ढुङ्गा र माटो खसिरहेकाले काम अगाडि बढ्न नसकेको ट्राफिक प्रहरीले जनाएको छ ।
यस्तै, कोशी राजमार्ग र अरनिको राजमार्गका विभिन्न स्थानमा पनि पहिरो खस्दा सडक अवरुद्ध भएका छन् । ती स्थानहरूमा सडक खुलाउने प्रयास जारी रहेको प्रहरीको भनाइ छ ।