

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा शुक्रबार साँझदेखि ठूलो पहिरो खस्दा सडक अवरुद्ध भएको छ । साँझ ६ बजेदेखि निरन्तर खसेको पहिरोले करिब १०० मिटर सडक ढाकेको डिभिजन सडक कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रमुख नारायण लामिछानेका अनुसार पहिरो झण्डै १०० मिटर माथिबाट खसेको हो । निरन्तर पहिरो खसिरहेकाले रातभर सडक सफा गर्न सकिएको थिएन ।
बिहान उज्यालो भएपछि मात्र दुवैतर्फबाट लोडर परिचालन गरी पहिरो पन्छाउने काम सुरु गरिएको छ । नारायणगढतर्फ सेती दोभान क्याम्पबाट स्काभेटर पनि पठाइएको लामिछानेले जानकारी दिए ।
उनका अनुसार पहिरो ठूलो भएकाले ढुङ्गा झरिरहेकाले जोखिम अझै कायम छ । तर, थप पहिरो नखसेमा करिब चार घण्टाभित्र सडक खुलाउने लक्ष्य राखिएको छ ।