नेकपा एकीकृत समाजवादीको निर्णय : विचार मिल्ने दलसँग एकता गर्ने पहल

नेकपा एकीकृत समाजवादीको निर्णय : विचार मिल्ने दलसँग एकता गर्ने पहल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले विचार र सिद्धान्त मिल्ने दल तथा समूहहरूसँग पार्टी एकता गर्ने पहल अघि बढाउने निर्णय गरेको छ।

शुक्रबार केन्द्रीय सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै उपाध्यक्ष प्रकाश ज्वालाले मुलुकको विषम परिस्थितिमा वामपन्थी शक्ति गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याउँदै कम्युनिस्ट आन्दोलन, राष्ट्रिय स्वाधीनता र जनक्रान्तिका उपलब्धिहरूको रक्षा गर्न सम्पूर्ण वामपन्थी, कम्युनिस्ट र समाजवादी शक्तिलाई एकताबद्ध हुन अपिल गरे।

बैठकले जारी गरेको १० बुँदे निर्णयमा भनिएको छ, ‘पार्टीले अँगालेका नीति, विचार, सिद्धान्त, कार्यक्रम र कार्यदिशासँग सहमत हुने वामपन्थी, कम्युनिस्ट तथा समाजवादी दल वा समूहसँग पार्टी एकता गर्ने र अन्य दल तथा समूहसँग वर्तमान सन्दर्भमा सहकार्य गर्ने पहल अघि बढाइनेछ।’

यसैगरी, २०८२ साल फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार, राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण सरोकारवालालाई समाजवादीले आह्वान गरेको छ।

बैठकले विगतका कामहरूको समीक्षा गर्दै कमी कमजोरी सच्याएर राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र, जनताको हित र समृद्धिको पक्षमा दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता दोहोर्याएको छ।

निर्णयमा भनिएको छ, ‘आ–आफ्ना कामको समीक्षा गरी गल्ती सच्याउँदै अघि बढ्न सबै राजनीतिक दलहरूलाई पनि आह्वान गर्दछौँ।’

सचिवालय बैठकले पार्टीका सम्पूर्ण संरचना र पङ्क्तिलाई निराश नहुन, उच्च मनोबलका साथ जिम्मेवारी पूरा गर्न तथा नागरिक समाज र आम समुदायसँग सहकार्य गर्दै अघि बढ्न निर्देशनसमेत दिएको छ।