

काठमाडौं । सन् २०२६ मा हुने ९८औँ एकेडेमी अवार्ड (ओस्कर अवार्ड) को अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालबाट ‘अञ्जिला’ चलचित्र सिफारिस भएको छ ।
द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (द ओस्कर) अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले बिहीबार विज्ञप्ति जारी गर्दै ‘अञ्जिला’लाई छनोट गरिएको जानकारी दिएको हो ।
समितिका अध्यक्ष विमल पौडेलले जारी गरेको विज्ञप्तिअनुसार यस वर्ष ओस्कर प्रतिस्पर्धामा भाग लिन दुई नेपाली कथानक चलचित्र—‘गुन्यु चोलो (द ड्रेस)’ र ‘अञ्जिला’ प्राप्त भएका थिए । दुबै चलचित्रको गहन मूल्याङ्कनपछि प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक गहिराइ र कलात्मक शिल्पलाई आधार मानेर ‘अञ्जिला’लाई छनोट गरिएको हो ।
यससँगै ‘अञ्जिला’ ९८औँ ओस्कर अवार्डको अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालको आधिकारिक प्रवेशका रूपमा प्रस्तुत हुने भएको छ ।