दशैंका लागि अग्रिम टिकट बुकिङ आजबाट

दशैंका लागि अग्रिम टिकट बुकिङ आजबाट

काठमाडौं, ९ असाेज । दशैँ मनाउन घर जाने यात्रुहरूलाई लक्षित गरी अाजदेखि अग्रिम टिकट बुकिङ खुला भएकाे छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको बैठकले सरकारले सवारी साधनको भाडा १० प्रतिशत बढाउने निर्णय गरेको भन्दै टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो ।

महासंघका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिअनुरुप सार्वजनिक यातायातको भाडा दर समायोजन भएपछि अाजबाट टिकट बुकिङ खुलाउने निर्णय गरेको जानकारी दिनुभयाे । भदौ ३१ गते यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच बसेको बैठकले असोज ५ गतेदेखि खुल्ला गर्ने निर्णय गरेपनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको भन्दै यातायात व्यवसायीले टिकट बुकिङ खुल्ला गर्न मानेका थिएनन् । महासंघका वरिष्ठ उपाध्यक्ष विजय स्वारका अनुसार बस व्यवसायी समितिका जुनसुकै काउन्टरमा गएर यात्रुले टिकट बुकिङ गर्न सक्नेछन्। उहाँले भन्नुभयाे, ‘काठमाडौंको नयाँबसपार्क र बस व्यवसायीको जहाँ रहेको काउन्टरबाट टिकट बुकिङ गर्न सकिन्छ।’
२०६५ मा वैज्ञानिक भाडा दर लागू गर्दा पेट्रोलियम पदार्थ एकमुष्ट प्रतिलिटर ५ रुपैयाँका दरले वृद्धि भए त्यसकै आधारमा सवारी भाडा बढ्ने सहमति भएको थियो। तर, एकै पटक ५ रुपैयाँ प्रतिलिटर नबढे पनि थुप्रैचोटि मूल्यवृद्धि भइसकेको व्यवसायीको भनाइ छ।