दसैं–तिहार नजिकिँदै नयाँ बसपार्कमा यात्रुको चाप

दसैं–तिहार नजिकिँदै नयाँ बसपार्कमा यात्रुको चाप

काठमाडौं । विजयादशमी तथा तिहार नजिकिँदै गर्दा काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको भीड बढ्न थालेको छ ।

भदौ २३ र २४ गते ‘जेनजी’ आन्दोलनका कारण त्रिभुवन विश्वविद्यालय र त्यसअन्तर्गतका क्याम्पस बिदा भएपछि विद्यार्थीहरू गृहजिल्ला जान थालेपछि यात्रुको संख्या अझ बढेको हो ।

नयाँ बसपार्क सञ्चालन गर्ने लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पंकज मल्लका अनुसार यसअघि दैनिक ४–५ हजार यात्रु बसपार्कबाट बाहिरिने गरेकामा अहिले सो संख्या बढेर १२–१५ हजार पुगेको छ । जेनजी प्रदर्शनका कारण केही समय अवरुद्ध भएको सार्वजनिक यातायात सञ्चालनमा आएपछि उपत्यका छोड्नेको संख्या ६५ हजारभन्दा बढी पुगेको उनले जानकारी दिए ।

यातायात व्यवस्था विभागमा मंगलबार बसेको बैठकले यस वर्ष दसैंका लागि अग्रिम टिकट नखोल्ने निर्णय गरेको पनि मल्लले बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यसपालि नयाँ बसपार्कमा यात्रुको भीड पहिले नै देखिन थालेकाले दसैं अवधिमा गृहजिल्ला फर्किने यात्रुको संख्या विगतभन्दा कम हुन सक्ने अनुमान गरेका छन् ।

हाल नयाँ बसपार्कबाट ६५ भन्दा बढी जिल्लामा सार्वजनिक यातायात आवतजावत गर्दै आएका छन् । सरकारले दसैं अवधिमा यातायात व्यवस्थित बनाउन असोज ६ गते (घटस्थापना)देखि असोज २२ गतेसम्म नेपालभर रुट परमिट खुला गर्ने निर्णय गरेको छ ।